एचआइडिसिललाई थप सबल बनाइने : ऊर्जा मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) लाई थप सबल संस्थाको रुपमा अगाडि बढाई मुलुकको ऊर्जा क्षेत्रको विकासका परिचालन गरिने बताउनुभएको छ ।
सरकारले एचआइडिसिएललाई पुनः संरचना गर्ने व्यवस्था नीति तथा कार्यक्रम र चालु आवको बजेटमा समेत प्रबन्ध गरेको सन्दर्भमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री बस्नेतले सबल आर्थिक संस्थाको रुपमा यस कम्पनीलाई अगाडि बढाउने र थप लगानी विस्तार गरिने बताउनुभयो ।
ऊर्जा क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यका साथ स्थापित संस्थाले कूल रु २७ अर्ब ३९ करोड बराबरको लगानी गरिसकेको छ । कम्पनीले १२ वटा परियोजनामा मात्रै स्वपुँजीका रुपमा रु छ अर्ब १२ करोड बराबर लगानी गरेको छ । ती आयोजनाको कूल क्षमता नौ सय दुई मेगावाट छ ।
यस्तै, १९ वटा परियोजनामा रु २१ अर्ब २१ करोड बराबर लगानी गरेको छ । ती आयोजनाको क्षमता एक हजार चार सय ६७ मेगावाट बराबर छ । मन्त्री बस्नेतले बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायसँग सहकार्य गरेर मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काममा एचआइडिसिएल लागि पर्नुपर्नेमा जोड दिनुभयो ।
कम्पनीका अध्यक्ष समेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले यथास्थितिमा कम्पनीलाई थप अगाडि बढाउनभन्दा पनि नयाँ नयाँ योजनाका साथ अगाडि बढाउनु जरुरी रहेको बताउनुभयो । उहाँले कम्पनीले हालसम्म गरिरहेको काम सन्तोषजनक रहेको उल्लेख गर्दै थप लगानी विस्तारका लागि नयाँ नयाँ उपाय र सोचको आवश्यकता रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्