सरकार, सदन र सडकको मोर्चा समाजवादको आधार : गृहमन्त्री श्रेष्ठ
कास्की । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीन वटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहनु भएका गृहमन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको मोर्चा नै अहिले मुख्य रहेको र सदन सहयोगी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली जनताको जीवनमा तात्कालिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “हालका उपलब्धिलाई राजनीतिक परिवर्तनको क्षेत्रमा सीमित गरियो भने परिवर्तनको औचित्य आम जनतामा पुष्टि हुन सक्दैन । जनताको जीवनमा राजनीतिक परिवर्तनले परिवर्तन ल्याउन सक्नुपर्दछ ।”
राष्ट्रिय एकता सुदृढ गर्नु, हालसम्मका उपलब्धि र संविधानको रक्षा गर्नु, संविधानलाई माध्यम र साधन बनाउँदै सामाजिक, आर्थिक रूपान्तरण गरी विकास र समृद्धिको यात्रा तीव्र बनाउनु देशको मुख्य कार्यभार रहेको उहाँले बताउनुभयो ।
वर्तमान सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामलाई छिटो टुङ्गोमा पुर्याउन चाहेको श्रेष्ठले बताउनुभयो । “सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्ने छ, द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने छ, यस पटक हर हालतमा सङ्क्रमणकालीन न्यायको काम पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा टुङ्गोमा पुर्याउन सरकार लागिपरेको छ”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो ।
पार्टीले आगामी भदौ १६ देखि सञ्चालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई गण्डकी प्रदेशमा प्रभावकारी बनाउने गरी लाग्न यस प्रदेशका नेता–कार्यकर्तालाई उहाँले निर्देशनसमेत दिनुभयो । अभियानका क्रममा नयाँ सदस्यता वितरण, सङ्गठन सुदृढीकरण, सङ्गठन पुनः गठन र विस्तारको कामलाई व्यवस्थित गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको बीचमा जाँदा हरेक जनताको घरमा पुग्नुपर्दछ, हाम्रो पार्टीको समर्थक मात्र होइन, विपक्षीको घरमा पुगेर सरकारले सुशासनका लागि गरेका कामका बारेमा सुझाव लिनुहोला । हामीले गरेको काम जनतालाई बताउनुपर्दछ, सुझाव लिनुपर्दछ र जनताले गाली गरे पनि सहनुपर्दछ ।”







प्रतिक्रिया राख्नुहोस्