सचेतनाका लागि माडीमा बोक्सी विरुद्धको वृत्तचित्र अग्नीदहन प्रदर्शन

चितवन । माडीमा बोक्सी विरुद्धको वृत्तचित्र अग्नीदहन प्रदर्शन गरिएको छ ।
समाजमा बोक्सी विरुद्धको जनचेतना जगाउन राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले वृत्तचित्र देखाएको हो ।
सोमेश्वर माध्यमिक विद्यालयको सभा हलमा विद्यार्थी, स्थानीयलाई वृत्तचित्र देखाइएको थियो ।
बोक्सा बोक्सीको आरोप लगाउने, क्रूर अमानवीय वा अपमानजनक व्यवहार गर्ने, यातना दिने जस्ता कुप्रथा रोकथामका लागि सचेतना फैलाउन कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।
वृत्तचित्रको कथा, पटकथा, संवाद लोकमणि पौडेलले लेखेका हुन् । घनश्याम लामिछानेको निर्देशन रहेको वृत्तचित्रको परिकल्पना कोविदशरण उपाध्यायले गर्नुभएको हो ।

अभियानका अध्यक्ष कोविदशरण उपाध्यायले बोक्सी विरुद्ध बनेको ऐेन २०७२ का प्रावधान, सजाय, क्षतिपूर्तिको व्यवस्थाबारे जानकारी गराउनुभएको थियो ।
बोक्सीको आरोप सम्बन्धी कसुरमा प्रकृति हेरेर ६ महिनादेखि ८ वर्षसम्म सजाय, १ लाखसम्म जरिवाना हुने व्यवस्था छ । अङ्गभङ्ग भएमा सजायमा थप १० प्रतिशत सजाय हुनेछ ।
पीडितलाई पीडकले मनासिब क्षतिपूर्ति दिने, सम्पूर्ण उपचार खर्च व्योहोर्नुपर्ने व्यवस्था ऐनमा छ । प्रतिष्ठानले बोक्सी कुप्रथा विरुद्धको सचेतनामूलक शिक्षामूलक राष्ट्रव्यापी अभियान चलाइरहेको छ । माडीको बगौडा, बसन्तपुरचोक, बरुवामा घुम्ती सिनेमा समेत देखाइएको छ ।

काठमाडौँ जाँदै गर्दा गजुरीमा महिलालाई कुटपिट भएको दृश्य देखेपछि रेडियो नेपालका गीतकार कोविदशरणले २०७१ मा अभियान सुरु गर्नुभएको थियो । संस्थाले पीडित महिलालाई सम्मान, हौसला बढाउने, आत्मनिर्भर बनाउने, बोक्सी विरुद्धको भ्रम हटाउन डकुमेन्ट्री देखाउने, चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
सो अवसरमा माडी–३ का वडाध्यक्ष दण्डपाणि पौडेलले कुरीति, कुप्रथा हटाउनुपर्ने बताउनुभयो । “बोक्सी मसान हुँदैन”, उहाँले भन्नुभयो, “मनको डरले खान सक्छ, अब भ्रम फाल्नुपर्छ, सुरक्षित समाज बनाउनुपर्छ ।”
महिला स्वयंसेविका गङ्गा सापकोटाले मनको डरले डिप्रेसन हुने गरेकाले मनोपरामर्श फैलाउनुपर्ने बताउनुभयो । माडीमा २०६८ फागुन ५ मा बघौडास्थित आफ्नो घरमा गोवर फाल्दै गरेकी ४० वर्षीया ढेगनीदेवी महतोको बोक्सीकै आरोपमा हत्या भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्