आँखा पाक्ने रोगको सङ्क्रमणका कारण मध्यपुर थिमिका विद्यालय ५ दिन बन्द

भक्तपुर । आँखा पाक्ने रोगको सङ्क्रमणबाट बालबालिकालाई जोगाउन भन्दै मध्यपुर थिमि नगरपालिकाभित्रका नीजि तथा सामुदायिक विद्यालय ५ दिनका लागि बन्द भएका छन् ।
आँखा पाक्ने रोगको संक्रमण विद्यार्थी र शिक्षकमा फैलिएपछि सरोकारवालाहरूसँग छलफल गरी नगरप्रमुख सुरेन्द्र श्रेष्ठले साउन ३१ गतेदेखी भदौ १ गतेसम्म थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गर्नुभएको हो ।
यसअघि नगरपालिकाले गत आइतबार साउन २९ र ३० गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । दुई दिनमा संक्रमण नियन्त्रणमा नआएपछि मङ्गलवार नगरप्रमुख स्तरीय निर्णय गर्दै थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
नगरभित्रका आँखा अस्पताल, स्वास्थ्य केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी, नीजि विद्यालयको सङ्गठन प्याव्सन, सामुदायिक विद्यालयका प्रधानाध्यापक र अन्य सरोकारवालाहरूसँगको छलफलमा आँखा पाक्ने रोग (भाइरल कन्जंक्टिभाइटिस)को सङ्क्रमणको दर झनै बढेको र रोगको संक्रमण फैलिएको निष्कर्ष निस्किएपछि संक्रमण रोकथाम र चेन ब्रेकको लागि थप ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँले शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम ३ अनुसारको बिदाबाट कट्टा हुने गरी बिदा दिएको बताउनुभयो । संक्रमण बढेपछि नगरपालिका मातहतका १८ सामुदायिक र ६३ वटा संस्थागत विद्यालय बन्द भएका छन् । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्रप्रसाद भट्टका अनुसार करिब २१ हजार विद्यार्थी संक्रमित हुनबाट जोगाउन विद्यालय बन्द गर्नुपरेको बताउनुभयो ।
हरेक दिन १५ देखि २० जना विद्यार्थी आँखा पाक्ने रोगबाट संक्रमित भएको र शिक्षकसमेत संक्रमित हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरेको शाखा प्रमुख भट्टको भनाई छ ।
प्याब्सन नगर समितिका अध्यक्ष एवं आदर्श जनप्रेमी स्कुल कौशलटारका प्रिन्सिपल निलेश आचार्यले विद्यालयमा आँखा पाक्ने समस्या ह्वात्तै बढेपछि नगरसमक्ष विद्यालय बन्द गर्न अनुरोध गरेको बताउनुभयो । आफ्नै विद्यालयमा कक्षा ११ र १२ मा ५८ जना र कक्षा १ देखि १० सम्म ६८ जना आँखा सङ्क्रमणकै कारण अनुपस्थित भएको उहाँको भनाई छ ।
आँखा पाक्ने रोगको संक्रमण दर बढेको र यसबाट विद्यार्थीहरू बढी प्रभावित भएको पाइएपछि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले सूचना जारी गरी पहिलो चरणमा सङ्क्रमणको चेन ब्रेक गर्नुपर्ने भएकाले विद्यालय बन्द रहने जानकारी गराएको छ । सूचनामा भीडमा नजान, संक्रमित व्यक्तिको सम्पर्कबाट बच्न, सङ्क्रमितको सामान प्रयोग नगर्न र सरसफाइमा ध्यान दिन सुझाव दिइएको छ ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा आउने आँखाका बिरामीहरूमा ५० प्रतिशत भन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेको अस्पतालले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्