तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय गौरवका तथा ठुला आयोजना सरकारको प्राथमिकतामा : मन्त्री डा.महत

बीरगंज  । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय गौरवका तथा ठुला आयोजनालाई प्राथमिकतामा राखेर सरकारले चालु आर्थिक वर्षको बजेट बिनियोजन गरेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन पर्सा शाखाले  आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री महतले सुशासन, पारदर्शितासँगै प्रभावकारी विकास निर्माणलाई सरकारले सँगसँगै अगाडी बढाएको बताउनुभयो । 

उहाँले हाल अर्थतन्त्रमा देखिएका समस्या बिस्तारै समाधान उन्मुख भएको र मुलुकको अर्थतन्त्र सहज अवस्थातर्फ अगाडी बढिरहेको बताउँदै बजार चलायमान बन्दै गएको हुँदा अब आतिनु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

मन्त्री डा. महतले विगतका वर्षहरूमा पूँजीगत खर्च कम हुँदा समस्या भएको बताउँदै अब समयमै ठेक्का लगाउने र समयमै बजेट खर्च गर्नुपर्ने प्रावधान सरकारले ल्याएको हुँदा आगामी दिनमा पूँजी प्रवाह भएर अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।                                                                                                                                                    

उहाँले आर्थिक पारदर्शिता, करदाता उन्मुख अर्थतन्त्रलाई कार्यान्वयन गर्दै भन्सारमा सहजतासँगै चोरी तस्करी नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री डा.महतले वीरगंजमा देखिएको खानेपानी समस्या समाधान गर्न सरकार गम्भीर छ भन्नुहुँदै तत्काल डिपबोरीङ गरी समस्याको समाधान गर्नुपर्ने र दीर्घकालीन रुपमा वैकल्पिक खानेपानीको स्रोत जुटाउने रणनीतिमा सरकार लाग्ने समेत बताउनुभयो । 

उहाँले बजेट न्युन र आवश्यकता धेरै रहेको भन्नुहुँदै सरकारलाई वैदेशिक ऋण र ब्याजको दायित्व बढ्दा जनचाहना अनुरुप अगाडी बढ्न नसकेकोमा दुखेसो समेत प्रकट गर्नुभयो ।

आयातित सामानमा लेबलिङ गर्नुले आर्थिक पारदर्शीता हुने र केही समय अप्ठ्यारो भए पनि पछि सहज हुन्छ भन्नुहुँदै अर्थमन्त्री डा.महतले गैरकानुनी व्यापार गर्नेलाई समस्या भएपनि कानुनी रुपमा व्यापार गर्ने व्यवसायीलाई यसले प्रोत्साहित गर्ने हुँदा व्यवसायीलाई लेबलिङ गर्ने कार्यले झन्झट नहुने समेत बताउनुभयो ।

उहाँले वीरगंजको कृषि औजार कारखाना सञ्चालन हुनुपर्छ भन्ने मान्यतासहित दीर्घकालीन योजनाका लागि सरकार लागि परेको उल्लेख गर्नुहुँदै वीरगंज चिनी कारखाना, हेटौँडा कपडा उद्योग, हेटौडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग लगायतका कलकारखानाको सञ्चालन सम्बन्धि अध्ययन गरेर त्यसको आधारमा निष्कर्ष निकालिने बताउनुभयो ।

मन्त्री डा.महतले त्रिभुवन विमानस्थल भन्सारबाट पक्राउ गरिएको सुन प्रकरणमा सरकारले गम्भीर रुपमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको उल्लेख गर्नुहुँदै दोषी  जो कोही भएपनि कडा कारबाही हुने बताउनुभयो । 

उहाँले सुन प्रकरणमा हाल भइरहेको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने काम कसैले गर्न नहुने कुरामा जोड दिँदै अहिले यस सम्बन्धी गम्भीर रुपमा अनुसन्धान भइरहेको र यसलाई प्रभावित पार्ने किसिमले यसको विकल्प खोज्न नहुने कुरामा जोड दिनुभयो ।

अर्थमन्त्री डा.महतले आजै बीरगंज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चालु आर्थिक वर्षदेखि सरकारले बजेटमा ल्याएको प्रावधानबाट उद्योगी व्यवसायीहरू आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुहुँदै कानुनी प्रक्रियाबाट व्यापार, व्यवसाय गर्नेलाई आयातित सामानमा लेबलिङ गर्ने प्रावधानले उद्योगी व्यवसायीलाई थप सुरक्षित बनाउने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button