सरकार जनतालाई सुशासन दिन लागिपरेको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार जनतालाई सुशासन दिन लागि परेको बताउनुभएको छ ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले सुशासनलाई सरकारले अभियानका साथ अगाडि बढाएको बताउनुभएको हो । “विकास निर्माणमा हुने गरेको ढिलासुस्तीलाई कम गर्न सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री खड्काले सरकारले केही दिनभित्र सङ्घीय शिक्षा विधेयक, सङ्घीय निजामती विधेयक, सङ्घीय प्रहरी विधेयकलगायतका महत्वपूर्ण विधेयकलाई संसद्मा प्रस्तुत गर्न लागेको जनाउनुभयो । वर्तमान सरकारले सेवाग्राहीलाई कसरी सहज रुपमा सेवा प्रदान गर्न सकिन्छ भनेर लागेको उहाँको भनाइ थियो ।
उहाँले पार्टीको घोषणापत्र र गठबन्धनले निर्माण गरेको नीति तथा कार्यक्रमका आधारमा सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । नेपालको अर्थतन्त्रलाई सुधार गर्न वर्तमान सरकार लागेको उहाँको भनाइ थियो ।

कांग्रेस उपसभापति खड्काले समयअनुसार पार्टीलाई परिवर्तन गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । “युगअनुसार पार्टीलाई रूपान्तरण गर्न व्यक्ति स्वयं रूपान्तरित हुनु जरुरी छ, अरू पार्टीलाई गाली गर्नुभन्दा आफ्नो पार्टी बलियो बनाउन सबै लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले स्थानीय तह, प्रदेश, क्षेत्र र जिल्ला तहमा जनताबाट आएका सुझावलाई समावेश गरेर पार्टी केन्द्रीय समितिलाई राय तथा सुझाव दिन पार्टीका नेता एवं कार्यकर्तालाई आग्रह गर्नुभयो । उपसभापति खड्काले पार्टीलाई थप चलायमान बनाउन काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेतालाई खटाउन लागेको बताउनुभयो ।
कांग्रेस नेत्री एवं बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले वडा, स्थानीय तह, प्रदेश र जिल्ला सम्मेलनले पार्टीलाई ऊर्जा दिएको बताउनुभयो ।
उहाँले पार्टीलाई बलियो र सशक्त बनाउनका लागि पार्टीभित्रको सम्पूर्ण निकायमा ३३ प्रतिशत महिलाको सहभागिता बढाउन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । युवा र महिलालाई अगाडि नबढाएसम्म पार्टी बलियो हुन नसक्ने उहाँको भनाइ थियो ।
कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीले पार्टीको विधानअनुसार क्षेत्रीय सम्मेलन आयोजना गरिएको जनाउँदै क्षेत्रीय सम्मेलनमार्फत आएका सुझावले पार्टीलाई थप बलियो र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कांग्रेस एक भएर अगाडि बढे काँग्रेसलाई निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने दाबी गर्नुभयो । उहाँले सङ्गठन विस्तारलाई क्षेत्रले पहिलो प्राथमिकता राखेको बताउनुभयो ।
सोही अवसरमा सेन्टर फर डेमोक्रेटिक इन्जिनीयर्स एशोसियशन (सिडेन) का नवनिर्वाचित अध्यक्ष इञ्जिनीयर लक्ष्मण केसी, नेपाल ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्की, प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित सदस्य हरिसिंह केसी, कांग्रेस प्रचार विभाग सदस्य सन्तोष न्यौपानेलगायतलाई सम्मान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्