तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीचौकी इन्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ

बागलुङ । होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । 

घटना शङ्कास्पद देखिएको भन्दै प्रहरी उपरीक्षकको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमा छोरालाई पक्राउ गरेको छ । 

यस्तै मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बागलुङ ल्याउने तयारी थालिएको छ । शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरि अस्पताल र आवश्यक परेमा पोखरासमेत पठाइने प्रहरीको भनाइ छ । 

आशा होटल एण्ड खाजा घरमा गए राति प्रहरी इन्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “प्रहरी गहिरो अनुसन्धानमा छ, प्रहरी इन्चार्जको नै यस्तो अवस्था हुनु निकै दुःखद् हो, घटना शङ्कास्पद देखिन्छ, प्रहरी घटनाको विषयलाई छिट्टै बाहिर ल्याउन लागि परेको छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button