गोरखामा रेशमखेती सुरु

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा पहिलो पटक व्यावसायिक रुपमा रेशम किराको खेती गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ घैरुङ्ग स्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती सुरु गरेको गाउँपालिकाका कृषि शाखाका ऋषि रोकाले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषिकहरुले मिलेर समूह मार्फत रेशम किराको खेती गर्न सुरु गरेको उहाँले बताउनुभयो । ‘पालिकाले समूहलाई रेशम किराको खेती गर्न सहयोग पु¥याउने उद्देश्यले फलामका ¥याकहरु निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ, शाखा प्रमुख रोकाले भन्नुभयो, ‘त्यस बाहेकको सहयोग समूहलाई प्रदेश सरकारले सहयोग गर्दै आएको छ ।’
‘पहिलो पटक उत्पादन थाल्दा ५ किलो मात्र कोकुन उत्पादन भएको थियो, उहाँले भन्नुभयो, ‘यस पटक ५० केजी उत्पादन हुने अनुमान गरिएको छ ।’ धागो नै निकालेर बिक्री गर्दा बढी फाइदा हुने भएपनि प्रशोधनको काम भने सुरु भई नसकेकाले समूहले अहिले कोकुन नै बिक्री गर्दै आएको शाखा प्रमुख रोकाले बताउनुभयो । धागो उत्पादन गरेर बिक्री गर्न सके प्रतिकेजी ५ हजार रुपैयाँमा बिक्री हुनसक्ने उहाँको भनाई छ ।
फार्ममा यस पटक ६० हजार रेशम किरा हालिएको मनकामना रेशम खेती कृषि समूहकी सदस्य लिना थापामगरले बताउनुभयो । ‘किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्छ, उहाँले भन्नुभयो, लगभग ४० दिनभित्रमा आम्दानी आइसक्ने अवस्थामा पुग्छ ।’ किरा राख्नु अघि घाँसको बगैँचा तयार गर्न सके महिनै पिच्छे किरा हालेर उत्पादन लिन सकिने उहाँले जानकारी दिनुभयो ।
‘रेशम किरा पाल्नका फार्म लगायतका संरचना निर्माण गर्न भने थोरै जग्गा भएपनि हुन्छ, उहाँले भन्नुभयो, ‘घाँस (किम्बु) खेतीका लागि धेरै जग्गा आवश्यक पर्ने हुँदा समूहले करिब १ सय रोपनी जग्गा समूहले भाडा लिएर घाँस खेती गर्दै आएको छ ।’ करिब ७१ रोपनी जमिनमा घाँस उत्पादन राम्रो रहेको भएपनि बाँकी जमिनमा मल पु¥याउन नसक्दा घाँस उत्पादन गतिलो हुन नसकेको उहाँको भनाई छ ।
समूहले रेशम किराको व्यवसायीक खेती गर्न सुरु गरेपछि एक पटक मात्र उत्पादन लिएको थापामगरले जानकारी दिनुभयो । ‘अब हुने उत्पादन यो दोस्रो पटक हो, पहिलो पटक अनुभव नहुँदा राम्रो आम्दानी लिन सकिएन, उहाँले भन्नुभयो, यसपटक भने धेरै न ज्ञान प्राप्त भएको छ अब राम्रो हुन्छ भन्ने विश्वास छ ।’
रेशम किराको खेती हेर्नका लागि गाउँपालिका भित्र र बाहिरबाट विद्यार्थीहरू समेत आउने गरेको उहाँले बताउनभयो । ‘विद्यार्थीहरू बारम्बार रेशम किराको खेती हेर्न आउँछन्, उहाँले भन्नुभयो, ‘विद्यार्थीहरू आउँदा कोकनहरु काट्ने, पानीमा राखेर धागोहरू निकाल्नका सिक्ने अवसर पनि यहाँबाट पाएका छन् ।’ बिग्रिएका कोकुनहरु विद्यार्थीहरूलाई सिक्नका लागि प्रयोग हुँदै आएको उहाँको भनाई छ ।
उत्पादित कोकुन बिक्रीका लागि बजार भने समस्या हुँदै आएको थापामगरले जानकारी दिनुभयो ।‘हामीले उत्पादन गरेपनि समयमा बिक्री नहुँदा कोकुनको तौल घट्ने गर्दछ, उहाँले भन्नुभयो,‘भनेको समयमा खपत नहुँदा कोकुनलाई धेरै पटक सुकाउनु पर्ने भएकाले तौल धेरै गर्ने भएकाले समस्या हुने गरेको छ ।
यस पटकको उत्पादन ढिलोसम्म राख्नुपर्दा ३०÷३५ केजी अनुमान गरिएको कोकुन घटेर ८ केजी मात्र भएको उहाँले दुःखेसो गर्नुभयो । गाउँपालिकाले जग्गा भाडाका लागि निरन्तर सहयोग गर्दै आएको थापामगरले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्