तपाईँ सुन्दै हुनुहुन्छः

लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । 

पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने लगायतका कार्य गरिदिन्छु भन्दै सुन र नगद गरी रु चार लाख ३० हजार बराबरको रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । परियारलाई लुभुबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

यसैगरी उनले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स् एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button