तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सुनुवाई जारी  

काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश द्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा आजको सुनुवाई सुरु भएको हो । 

आइतबारका लागि पेशी तोकिएको सो रिट निवेदन न्यायाधीश द्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासले हेर्न नमिल्ने सूचीमा राखेको थियो । 

असार २७ गते बसेको न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिएको थियो । 

गत असार २१ गते कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न गरिएको दाबीमा सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेपछि एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले असार २२ गते सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो । 

रिट निवेदक कार्कीले सभामुखले समेत सरकार निर्माणमा राखेको मत अवैधानिक भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने माग राख्नुभएको छ । 

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०,  नेपाली कांग्रेसका २९, माओवादीका १२, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका एक जना सांसद रहनुभएको छ । 

मुख्यमन्त्री थापाको पक्षमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका गरी ४६ सांसद रहनुभएको छ भने विपक्षमा एमाले र राप्रपाका ४६ सांसद रहनुभएको छ । 

मुख्यमन्त्री दाबीका लागि दुवै पक्षको बहुमत नपुग्ने भएपछि माओवादीबाट सभामुख बन्नुभएका गौतमले पनि हस्ताक्षर गरेपछि एमाले त्यसविरुद्ध रिट लिएर सर्वोच्च गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button