तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज नाकाबाट भारत जानेको सङ्ख्यामा वृद्धि

बाँके । नेपालगन्ज जमुनाह भन्सार नाका भएर कामको खोजिमा भारत जाने नेपाली दाजुभाइ दिदिबहिनीको संख्या पछिल्लो समय दिनप्रतिदिन ह्वात्तै बढेको छ। यसरी जानेमा पिठ्युँमा बालबालिका बोकेका महिला समेत छन् ।

धान रोपाइँ सकिएपछि कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नेपालीहरु कामका लागि भारत जाने गरेका हुन् । कतिपय नेपालीहरु नेपालगञ्जबाट भारतका विभिन्न शहरमा सञ्चालनमा रहेका यात्रुवाहक बसमार्फत पनि भारत जाने गरेका छन् ।

सुर्खेत सिम्ताका उपेन्द्र बस्नेत १३ वर्षदेखि भारतको गुजरातमा होटल मजदुरको रुपमा काम गर्दैआएको बताउनु भयो । नेपालगञ्ज भन्सार कार्यालय नजिकैं भेटिएका बस्नेतले ‘वैशाखमा घर आएको थिएँ, अहिले फेरि कामका लागि साथीभाइसहित पुरानै ठाउँमा जान लागेका बताउनु भयो।’ यस्तै कालिकोट बाट आउनु भएको निमा जैसी सानो बच्चा पिठ्युँमै बोकेर भारत आफू अनि सानी छोरी बोकेर श्रीमान भएको ठाउँमा रोजिरोटिको लागि जाने गरेको बताउनु भयो।

पछिल्लो समय सीमानाकामा कडाइ गरिएपछि दैनिक किनमेलका लागि भारत जानेको सङ्ख्या घटेको भए पनि कामका लागि भारत जानेको सङ्ख्या भने बढेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक दामु पुनले असार अन्त्यदेखि नै सीमानाका भएर भारत जानेहरुको सङ्ख्या बढिरहेको जानकारी दिनु भएको छ।

नेपालीहरु समूह–समूहमा र एक्लाएक्लै पनि नाका भएर भारततर्फ जानेगरेको प्रहरीले जनाएको छ । जमूनाह प्रहरीको तथ्याङ्कअनुसार करिब तीन सयको हाराहारीमा नेपाली भारततर्फ दैनिक रुपमा जाने गरेको पाइएको छ ।
नेपाली यहाँ चाडपर्व मानेर तथा कामकाज सकेर मौसमी रोजगारीका लागि भारतका विभिन्न शहरमा जाने प्रचलन छ । दशैं, तिहारको समयमा स्वदेश फर्किने नेपालीको सङ्ख्या अधिक हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button