बागलुङदेखी म्याग्दी जोड्ने सडक अलपत्र

बागलुङ । बागलुङको गलकोट नगरपालिकाबाट तारा हुँदै रुमफेदी म्याग्दी जोड्ने कालोपत्रे सडक निर्माणको काम सुस्त हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।
एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २४ करोड ७८ लाखको बजेटमा बन्न लागेको उक्त सडक ४० कि मी लामो र रणनीतिक सडकसमेत हो । अहिले १० किलोमिटर सडकमा केही नाली बनाउने र गिटी हाल्ने काम भएपनि धेरै स्थानमा बालुवा र माटाको थुप्रो पारेर छाडिएको छ ।
तीन वर्ष अघि सडकको २० किमी मात्रैको डिपिआर बनेको थियो । उक्त खण्डको पनि आधा मात्रै अर्थात १० किमी सडक कालोपत्रे गर्न ठेक्का लगाइएकोमा जम्मा ५५ प्रतिशत मात्रै काम भएको साइड इन्चार्ज चन्द्र बहादुर पुनले जानकारी दिनुभयो ।
एपेक्स खड्का कृष्ण कन्स्ट्रक्सनले ठेक्का लिएको सडकका मुख्य ठेकेदार रतन बहादुर खड्का हुन् । अहिलेसम्म १० करोड ६७ लाख ८८ हजार २ सय ८७ रुपियाँ ४४ पैसा निकासा गरि सकिएको छ ।
पटक–पटक फोन गर्दा पनि काम ठेकेदारले फोन नउठाउने र आजभोलि उनी अर्को स्थानमा काम गर्न गएको स्थानीयको गुनासो छ ।
उक्त कम्पनीले पहिलो पल्ट २०७६ कात्तिक २६ गते सम्झौता गरेर काम गर्न सुरु गरेको थियो । काम राम्रोसँग नभएपछि पटक पटक प्रदेश मन्त्री र सांसद सहित स्थानीय तहले यसबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आएका छन् ।
दोस्रो पटक थपिएको म्याद अनुसार २०७९ पुष २५ गते काम सुचारु गरी २०८० कात्तिक २५ गते सम्म सक्नु पर्ने हो तर काम अहिले सम्म सुचारु भएको छैन ।
बाटोको अवस्था नाजुक भएकोले सवारी साधन लाई हिँड्न समस्या रहेको सवारी चालक जित बहादुर विकले बताउनु भएको छ ।
बनेको बाटो र संरचना कतिपय ठाउँमा भत्किएको र बाँकी रहेको काम पनि छिटो गरिने एपेक्स कृष्ण कन्स्ट्रक्सन इन्जिनियर रामु कँडेलले जानकारी दिनुभयो







प्रतिक्रिया राख्नुहोस्