तपाईँ सुन्दै हुनुहुन्छः

विपद व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउँदै सिन्धुपाल्चोकका स्थानीय तह

सिन्धुपाल्चोक । बर्सेनी कुनै न कुनै विपदबाट प्रभावित हुँदै आएको सिन्धुपाल्चोकमा पछिल्लो समय  विपद व्यवस्थापन र पूर्व तयारीको अवस्थालाई चुस्त र दुरुस्त बनाइएको छ ।

मनसुन भित्रिएसँगै मनसुनजन्य विपद न्यूनीकरणका लागि पूर्वतयारी, व्यवस्थापन र प्रतिकार्यलाई स्थानीय तह र सरोकारवाला निकायहरूले चुस्तदुरुस्त बनाएका हुन् ।

हुन त मनसुन सुरु हुनु अगावै जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले  विपद व्यवस्थापनका लागि विभिन्न स्थानमा कृत्रिम घटना अभ्यास सम्पन्न गरिसकेको छ । स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, विद्यालय बालबालिका र स्थानीयको व्यापक उपस्थिति रहको कार्यक्रममा विपदबाट जोगिने उपाय, उद्धार र उपचारका विधिबारे कृत्रिम घटनामार्फत अभ्याससँगै प्रदर्शन गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका सदस्य सचिव निर।जन श्रेष्ठले बताउनुभयो । 

जिल्लाको विभिन्न ५० स्थानमा भौगोलिक अध्ययन पनि सम्पन्न भइसकेको र तत्काल उद्धार, राहतका लागि स्थानीय तहहरूमा विभिन्न सामाग्री पनि पठाइसकेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै स्थानीय तहले पनि विपद पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ । विगतमा पूर्व तयारीको अवस्था कमजोर भएको निष्कर्ष निकाल्दै यसपटक स्थानीय तहले मनसुन अगावै विपद व्यवस्थापनमा तदारुकता देखाएको  भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताउनुभयो । विपदमा आइपर्न सक्ने समस्याको पहिचान गर्दै प्रतिकार्य र उद्धारका लागि आवश्यक सामाग्री खरिद गरि प्रत्येक वडा वडामा पुर्‍याइसकेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिकाले पनि मनसुनजन्य विपद न्यूनीकरणका लागि पूर्वतयारी र व्यवस्थापनलाई तीव्र बनाएको जनाएको छ । पाँचपोखरी थाङपाल, जुगल, हेलम्बु गाउँपालिकाले पनि विपद प्रतिकार्य, राहत, उद्धारका लागि व्यवस्थापकीय पक्षलाई मजबुत बनाएको जनाएको छ ।

मनसुनजन्य विपदबाट बेलैमा स्थानीयलाई बचाउनका लागि विज्ञहरुको टोलिले जिल्लाका विभिन्न बस्तीहरूको भौगर्भिक अध्ययन गरि जोखिम बस्तीको पहिचानसहित आवश्यक परामर्श पनि दिइसकेको छ । भूगर्वविद कविता महर्जनले बताउनुभयो । आफूहरूले दिइएको प्रतिवेदन अनुसार जोखिमयुक्त बस्तीहरू बेलामा नै सार्न सरकारले पहल गरेको खण्डमा विपदबाट हुने क्षति कम हुने उहाँको धारणा छ । तर सरकारले त्यतातिर ध्यान नदिएको उहाँले गुनासो गर्नुभयो । 

२०७१ साल साउन १७ गतेको जुरे पहिरो, २०७२ साल वैशाख १२ गतेको महाभूकम्प,त्यस लगत्तैको भोटेकोसी बाढी, २०८७ साल असार १ गतेको मेलम्ची बाढी, लिदी र नागपुजे पहिरो लगायतका ठूलाठूला विपदबाट मानवीय र भौतिक क्षति व्यहोरी सकेको सिन्धुपाल्चोकमा  विपद पूर्वतयारी र व्यवस्थापनमा तदारुकता देखिएसँगै यसपटक मनसुनजन्य विपदबाट कम क्षति हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button