तपाईँ सुन्दै हुनुहुन्छः

‘नवीन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले इन्टरनेटको विकास र प्रयोग बढेसँगै टेलिकम कम्पनीहरूको व्यापार कम हुँदै जाने भएकाले नवीन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

file photo

काठमाडौँमा आयोजित ‘दूरसञ्चार विकास’ विषयक कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री महराले इन्टरनेटको प्रयोग बढेसँगै विद्यमान ‘टेलिकम्युनिकेशन’ क्षेत्र साँघुरिने बताउनुभयो ।

नेता महराले भन्नुभयो, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालय संवेदनशील छ । बदलिँदो प्रविधि र अभ्याससँगै नीतिमा पनि अपग्रेड हुनुपर्छ ।” उहाँले सेवालाई सहर केन्द्रित मात्र नगराएर ग्रामीण दूरसञ्चार क्षेत्रमा सेवा विस्तार गर्न सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवा शुल्क महँगो हुनु सेवा प्रदायकको बाध्यता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा शुल्क महँगो छ । प्रत्यक्ष कर मात्रै ३२ प्रतिशत र अप्रत्यक्ष कर जोड्दा ४२ प्रतिशत हुन्छ । अर्कोतर्फ आवश्यक सबै उपकरण विदेशबाट ल्याउनुपर्ने बाध्यता छ ।”

कार्यक्रममा उपस्थित निजी सेवा प्रदायक संस्थाहरूले सरकारसँगको सहकार्यमा डिजिटल नेपालको फ्रेमवर्कका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button