तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा ११ औँ राष्ट्रिय खेलकुदको आयोजना गर्न बजेट विनियोजन

जनकपुरधाम । अगामी ११ औँ राष्ट्रिय खेलकुदको आयोजना मधेश प्रदेशमा गर्नका लागि मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ बजेटमा २५ करोड रकम विनियोजन गरेको छ । 

यस बजेटबाट मधेश प्रदेशका जिल्लाहरूमा खेलकुदको पूर्वाधारको निर्माण तथा मरम्मतको काम गर्ने कार्यक्रम रहेको मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले जानकारी दिनु भएको छ । 

मधेश प्रदेशका राजधानी सहितका विभिन्न जिल्लाहरूमा त्यस बजेटबाट भएको भौतिक पूर्वाधारको मरम्मत तथा नयाँ पूर्वाधारहरूको निर्माण गर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।  

मधेश प्रदेशका जिल्लाहरूमा पञ्चायतकालमा निर्माण भएको खेलकुदका पुराना संरचनाहरू भएपनि मुलुकमा लोकतान्त्रिक व्यवस्था स्थापना भएपछि खेलकुदको क्षेत्रमा कुनै नयाँ संरचनाको निर्माण हुन सकेको छैन । 

जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको लागि राष्ट्रिय खेलकुद परिषद्ले गुठी संस्थानबाट साढे १७ विघा जग्गा लिजमा प्राप्त गरेर केही पूर्वाधारको निर्माणको थालनी गरेपनि यसको सम्पूर्ण संरचनाको निर्माण गर्नका लागि पाँच अर्ब बजेट लाग्ने अवस्था रहेको छ । 

रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा क्रिकेट, फुटबल, भलिबल तथा हक्की खेलको पूर्वाधारहरू एक साथ निर्माण गर्ने कार्यक्रम रहेको र यो रंगशाला निर्माण भएको खण्डमा मुलुककै नमूना रंगशाला बन्ने यसका अभियन्ता दिनेश पूर्वेले जानकारी दिनु भएको छ । यसका साथै यस क्षेत्रको खेलकुद पर्यटनमा पनि ठूलो टेवा पुग्ने भएको छ ।  

रंगशालाको शुरुवाती निर्माणमा जनकपुरधाम उपमहानगरपालिकाले केही बजेटको व्यवस्थापन गरेको भएपनि त्यसले माटो सम्याउने, क्रिकेटको खेलमैदान बनाउने तथा विद्युतको पोल हटाउने काम भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्ले प्रदान गरेको बजेटबाट कम्पाउन्ड वाल सहितको तारवार गर्ने काम थोरै मात्रामा भएको छ । मधेश प्रदेशमा खेलकुदको व्यापक सम्भावना भएपनि पूर्वाधारको अभाव रहेको छ । जनकपुरधाम कुनै वेला हरेक खेलकुदमा अगाडि भएपनि अहिले पछाडि परेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button