तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको पशु चौपायामा लम्पी स्कीन रोगको संक्रमण   

जनकपुरधाम  । धनुषाको आधा दर्जन पालिकाहरू पशु चौपायामा लाग्ने लम्पी स्कीन रोगको संक्रमण देखिएको छ । 

खास गरेर गाई, भैँसीमा लाग्ने लम्पी स्कीन रोगका कारणले यहाँ आधा दर्जन चौपायाहरू मरेका छन् ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, मिथिला विहारी नगरपालिका, धनुषाधाम, वटेश्वर, सवैलामा यो रोगको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. सञ्जीव ठाकुरले जानकारी दिनुभयो । 

लम्पी स्कीन रोग लागेको पशु चौपायामा फोका आउने, फुट्ने र घाउ आउने, ज्वरो आउने, गर्भ तुहिने र दूध दिनेको दूध आउन कम हुने जस्ता लक्षणहरू देखिन्छ  । 

लम्पी स्कीन सरुवा रोग भएकाले यसले एक पशुबाट अर्को पशुमा सार्ने भएकाले किसानहरू सजग हुन आवश्यक छ । यो रोग लागेका पशुबाट स्वस्थ्य पशुलाई अलग राख्नका लागि चिकित्सकहरूले सुझाव दिनुभएको छ । 

लम्पी स्कीन रोगबाट जोगाउनका लागि नियमित रुपमा खोप लगाउनुको विकल्प नभएको उल्लेख गर्नुहुँदै डा.ठाकुरले धनुषामा खोप कार्यक्रम यस पटक नचलेको बताउनुभयो । आकस्मिक रुपमा खर्च गर्न मिल्ने शीर्षकको बजेट नै रोक्का गर्ने काम भएकाले खोप कार्यक्रम हुन नसकेको उहाँले बताउनुभयो । 

धनुषामा पशु लागिरहेको प्राणघातक रोग लम्पी स्कीन रोग रोक्नका लागि समयमा नै ध्यान नदिएको खण्डमा थप क्षति गर्ने खतरा रहेकाले प्रदेश सरकारले नियमित खोप कार्यक्रम तत्काल शुरु गर्न आवश्यक छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button