तथ्याङ्कमा जातजातिलाई फुटाउने काम हुँदैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताउनुभएको छ ।

नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देशलाई, जातिलाई फुटाउन हुँदैन भन्नेमा आफू स्पष्ट रहेको बताउनुभयो । उहाँले मगर लगायत अरू आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा विभाजित गरेको गुनासो आफूसमक्ष आएको र त्यसलाई सच्याउन निर्देशन दिने उल्लेख गर्नुभयो ।
सबै जातजातिमध्ये मगर समुदायमा विचार, नेतृत्व र नेताको रक्षामा प्रतिबद्ध देखिएको भन्नुहुँदै प्रधानमन्त्री दाहालले मगर समुदायको व्यक्तिलाई राष्ट्रकै सम्मानित पद उपराष्ट्रपति र सभामुख बनाइएको बताउनुभयो । नेपाल बहुजातीय, बहुभाषिक, विभिन्न सांस्कृतिक विविधतायुक्त भएको उल्लेख गर्नुहुँदै उहाँले यो ऐतिहासिक विरासत नेपालको विशिष्ट पहिचानका रूपमा रहेको बताउनुभयो ।
आदिवासी सबै प्रकृतिको पूजा गर्ने संस्कृतिबाट विकास हुँदै आएको इतिहास रहेको जनाउँदै उहाँले प्रकृतिको संरक्षण गर्ने कुरा सम्पूर्ण मानव जातिको संरक्षण गर्नेमा निहित छ भन्नुभयो ।
राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले देशभरका मगरहरूको एकता आवश्यक रहेको बताउनुभयो ।
पुन समाज नेपालका संरक्षक एवं पूर्व मन्त्री उत्तम पुनले मगर जातिको तथ्याङ्कलाई सच्याउन तथ्याङ्क कार्यालयसँग आग्रह गर्नुभयो ।
त्यस अवसरमा मगर जातिका सांस्कृतिक, सामाजिक झाँकी प्रदर्शनी गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्