तपाईँ सुन्दै हुनुहुन्छः

झापाको भद्रपुरमा सन्थाल आवास निर्माणका लागि दुई करोड

भद्रपुर, झापा । झापाको सदरमुकाम भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि संघीय सरकारले रू दुई करोड बजेट विनियोजन गरेको छ ।

विपन्न आदिवासी सन्थाल समुदायको घर निर्माणका लागि आर्थिक वर्ष २०८०÷०८१ का लागि संघीय सरकारबाट विशेष अनुदानस्वरुप उक्त रकम आएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिनुभयो ।

उक्त रकमबाट करिब एक सय घर निर्माण गर्न सकिने उहाँले बताउनुभयो । प्राप्त बजेटसँगै लाभग्राहीबाट केही लागत सहभागिता समेत गरी घर निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

भद्रपुर नगर क्षेत्रमा ६३४ घर आदिवासी सन्थाल समुदायको बसोबास रहेको जनाउँदै नगरप्रमुख गणेश पोखरेलले एकल महिला, आर्थिक अवस्थालगायतको आधारमा मापदण्ड बनाएर प्राथमिकताका आधारमा घर निर्माण गरिने बताउनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा नगरमा रहेका सबै आदिवासी सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बिमासमेत गरिदिएको छ । विपन्न र आर्थिक अवस्था कमजोर भएका समुदायको जीवनस्तर उकास्न नगरपालिकाले सक्दो प्रयास गरिरहेको नगरप्रमुख पोखरेलको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button