तपाईँ सुन्दै हुनुहुन्छः

‘लोकतन्त्रलाई सुदृढ तुल्याउन राजनीतिक इमानदारी अपरिहार्य’

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई सुदृढ तुल्याउन विधिको शासन र राजनीतिक मूल्यमान्यताको असल अभ्यासलाई स्थापित गर्न जरुरी भएको बताउनुभएको छ ।

शैलजा आचार्य आदर्श समाजले आयोजना गरेको ‘शैलजा आचार्यको प्रेरणा र सान्दर्भिकता : भ्रष्टाचार विरोधी हाम्रो प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उहाँले राजनीतिक दलभित्र देखिएका विकृतिलाई सुधार गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको दिशामा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिमा निष्ठा र इमानदारीको खडेरी परेको टिप्पणी गर्दै गठबन्धन संस्कृति, राज्य संयन्त्र, संवैधानिक निकाय लगायतमा भागबन्डा र दलगत स्वार्थको संस्कृतिले लोकतन्त्रलाई कमजोर तुल्याउने बताउनुभयो ।

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले मूल्य र मान्यताको संस्कृति हराउँदै गएको तर भ्रष्टाचार र बेथिति बढेको छ भन्दै यसले लोकतन्त्रलाई कमजोर पार्ने आशङ्का व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार हरिबहादुर थापाले ‘इमान्दार’ शब्द नै हराउँदै गएको, आपराधिक व्यक्तिहरू सङ्गठित हुँदै गएको र इमानदारहरू छिन्न भिन्न हुँदै गएको भन्दै संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निरन्तर खबरदारी जरुरी भएको उल्लेख गर्नुभयो ।

सांसद कमला पन्तले शैलजा आचार्यको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको आदर्शलाई आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले जलविद्युत्को विकासमा समेत आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा भ्रष्टाचारविरुद्ध निरन्तर खोज तथा अनुसन्धानमा सक्रिय रही असल शासन प्रवर्द्धनमा भूमिका खेलेको भन्दै पत्रकार हरिबहादुर थापालाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button