तपाईँ सुन्दै हुनुहुन्छः

सडकमा फोहोर फाल्नेविरुद्ध मुद्दा चलाउने वीरगञ्ज महानगरको तयारी

वीरगञ्ज । वीरगन्जलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाइसँगै जथाभाबी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाइने तयारीसहित महानगरपालिकाले सरसफाईमा कडाइ गरेपछि अहिले वीरगञ्जको स्वरूप परिवर्तन भएको छ ।

महानगरका सडक तथा गल्लीमा जथाभाबी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरले अब जरिवानासँगै फोहर फाल्ने विरुद्ध सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले बताउनुभयो ।

गत पुस १७ गतेदेखि “जथाभाबी फोहोर फाल्नेलाई जरिवाना गर्ने” अभियान अन्तरगत आजसम्म आइपुग्दा नगर क्षेत्रका ४ सय ८२ जना कारबाहीमा परेका छन् । फोहोर फाल्ने विरुद्धको कारबाहीले १२ लाख ४६ हजार ५ सय ५ रुपैयाँ जरिवाना असुल भएको मियाँले जानकारी दिनुभयो ।

जरिवाना गर्दा समेत फोहोर फाल्ने केही कम त भएको तर अपेक्षाकृत रुपमा नघटेको बताउँदै अब फोहोर फाल्नेलाई जरिवाना मात्रै नभई सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा समेत चलाउने तयारी महानगरपालिकाले गरेको मियाँले बताउनुभयो ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा तीन चरणमा महानगरले नियमित सरसफाइ गर्दै आएको छ । विगतमा डम्पिङ साइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइड बनाएको छ ।

आर्थिक राजधानीका रूपमा चिनिएको वीरगञ्ज महानगरको पर्यटन प्रवर्द्धनका लागि नगर क्षेत्रको सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । महानगरले वर्षायाम अगाडि नै नगर क्षेत्रका नाला सफा गरेर वर्षायाममा हुने डुबानबाट नगरलाई बचाउने सङ्कल्पका साथ नाला सरसफाइ अभियान समेत तीव्र पारिएको सरसफाइ प्रमुख मियाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button