नेपालीहरू मनको धनी छन् : उपसभामुख राना

काभ्रे (मण्डनदेउपुर) । संघीय सरकारका उपसभामुख इन्दिरा रानाले नेपालीहरू मनको धनी रहेको बताउनुभएको छ ।
भूकम्प ,बाढी पहिरो, कोरोना लगायतका थुप्रै विपत्तिमा समेत हार नखाई मानव हितका क्षेत्रमा लागिरहेको उल्लेख गर्नुहुँदै उहाँले सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर ९ ढाईटारमा सेवक नेपालको सहयोगमा नवनिर्मित बालगृहको उद्घाटन गर्दै उहाँले सकभर बालबच्चालाई आफ्नै परिवारसँगै राख्न आग्रह गर्नुभयो ।

उपसभामुख रानाले आर्थिक सङ्कटका कारण हुनुपर्ने जति काम नभएको भन्दै अभावको बेला आफु नेतृत्वमा आएको बताउनुभयो । कतिपयले पहुँचको आधारमा वा अन्य बाहानामा पनि बालगृहमा बालबालिका रहेको पाइएको उल्लेख गर्नुहुँदै उहाँले वडा कार्यालयलगायत नियमन गर्ने निकायले यसबारेमा चासो दिनुपर्ने बताउनुभयो ।

स्थानीयमा फजुल खर्च नगर्न आग्रह गर्दै फजुल खर्च गर्ने रकम सामाजिक क्षेत्रमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।उपसभामुख रानाले कति जना बच्चाको उद्धार गरियो र संरक्षण गरियो भन्ने रेकर्ड राख्न समेत आग्रह गर्नुभयो ।
उहाँले आफूले बालबालिकाको क्षेत्रमा गरेको कामको अनुभव सुनाउँदै आगामी दिनमा समेत सहयोग समन्वय र हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्