तपाईँ सुन्दै हुनुहुन्छः

झापाको भद्रपुरमा स्थानीय पाठ्यक्रम लागु

भद्रपुर, झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम तयार पारेर लागु गरेको छ ।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी स्थानीय जाति, भाषा, भूगोल, संस्कृति, पर्यटकीय क्षेत्रलगायतका विषय समेटेर पाठ्यक्रम तयार गरी यसै शैक्षिक सत्रबाट लागू गरेको हो ।

नगरपालिकाले चालू शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्म ‘भद्रपुरको सेरोफेरो’ शीर्षकमा स्थानीय पाठ्यक्रम तयार गरेर पठनपाठन सुरु गरेको छ । भद्रपुरको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्ययता, नदी, खोला, ताल तलैया, मठमन्दिर, धार्मिक ऐतिहासिक स्थलको परिचय, नैतिक आचरण, योग शिक्षा तथा नगरपालिकाको विविध जानकारी समेटिएको पाठ्यक्रम तयार पारिएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।

नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलका अनुसार स्थानीय स्रोत साधन र स्थानीय परिवेश सुहाउँदो विषयवस्तु समेटेर पाठ्यक्रम तयार गरिएको हो । यस वर्ष पाठ्यक्रम मात्र लागू गरिएको भन्दै पौडेलले आगामी शैक्षिक वर्षबाट भने पाठ्यपुस्तक समेत तयार पारेर पठाइने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button