तपाईँ सुन्दै हुनुहुन्छः

प्रज्ञापन पत्र र बैङ्क भौचर नक्कली बनाउने पक्राउ

बेलहिया (रुपन्देही) । भन्सार कार्यालयको प्रज्ञापन पत्र र बैङ्कको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङ स्थलबाट बाहिरिएको माछासहितको एक मिनी प्रहरीले नियन्त्रणमा लिइएको छ । 

तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक भैरहवा भन्सार कार्यालयबाट बाहिरिएको थियो ।

कार्यालयदेखि करिब सात सय मिटरको दूरीको तीन कुने बाइपासमा सशस्त्र प्रहरी र भन्सारको संयुक्त चेकजाँच टोलीले शङ्का लागि पुनः भन्सार फर्काइ अनुसन्धान गर्दा भन्सार प्रज्ञापन पत्र नै नक्कली बनाइएको भेटिएको हो । 

भन्सार कार्यालयले उक्त ट्रकसहित, चालक, आयत कर्ता, एजेन्ट, बैंकका कर्मचारी र भैरहवा भन्सारको सुरक्षा हेर्ने अन्नपूर्ण टर्मिनल्सका तीन जना कर्मचारी गरी ११ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख मनिराम पौडेलले बताउनुभयो ।

उक्त माछा काठमाडौँ पठाउने गरी कृष्ण फिडले आयात गरेको थियो ।  क्वारेन्टिइनबाट माछाको स्वास्थ्य परीक्षणसमेत गराइएको भए पनि प्रज्ञापन पत्र भने नक्कली बनाइएको प्रारम्भिक अध्ययनबाट देखिएको छ । 

भन्सारकै जाँचकी, अधिकृत कर्मचारीको नक्कली हस्ताक्षर, छाप, राजस्व बुझाएको भौचरसमेत नक्कली बनाएर गाडी निस्किएको थियो । सरकारी कागजात कीर्ते गरी भन्सारको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै ट्रक बाहिरिनु गम्भीर विषय भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो गम्भीर प्रकृतिको घटना हो यस प्रकारको घटनाले वैधानिक कारोबार गर्ने व्यवसायीलाई पनि मारमा पारिरहेको छ ।” भैरहवा भन्सारको सुरक्षाको जिम्मेवारी अन्नपूर्ण टर्मिनल्सले लिएको छ । 

उक्त प्रकरणमा संलग्नलाई भन्सार ऐन अनुसार कारबाही गरिसकेपछि उक्त अवैध कारोबारमा संलग्नलाई सरकारी कागजात कीर्तेको आरोपमा मुद्दा चलाउने प्रहरीको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button