तपाईँ सुन्दै हुनुहुन्छः

दुहबी नगरपालिकाद्वारा कृषकलाई उन्नत जातको धानको बीउ वितरण

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले कृषकहरूलाई उन्नत जातको धान उत्पादन गर्न बीउ वितरण शुरु गरेको छ । 

दुहबीका १२ वटै वडाका किसानहरूलाई उन्नत जातको धान उत्पादन गर्न धान बिउ वितरण गरिएको दुहबी नगरपालिका कृषि शाखाका प्रमुख कप्लेश्वर यादवले बताउनुभयो ।

१८ मेट्रिकटन बीउ वितरण गरिसक्ने नगरपालिकाका कृषि प्राविधिक अजय गौतमले बताउनुभयो । गत वर्ष पनि वर्षायाम सँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ । 

दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारले धानबाली नगरको प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ वितरण गरेको बताउनुभयो ।

गत वर्ष कृषकलाई उन्नत जातको धानको बीउ वितरण गर्दा नगरमा पच्चीस प्रतिशत भन्दा बढी धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि नगरपालिकाले बीउको लागि छुट्टै बजेट व्यवस्थापन गरेको नगरप्रमुख गच्छदारले बताए । बीउमा ५० प्रतिशत कृषक र ५० प्रतिशत नगरपालिकाको योगदान रहेको छ ।

उक्त धान बिउ नगरक्षेत्रका तीन सयभन्दा बढी कृषक र चार वटा कृषक समूहलाई उन्नत जातको राधा १२, कान्छी, स्वर्णा सव–१, रञ्जित जातको धानको बिउ वितरण गरिरहेको कृषि शाखाले जनाएको छ । 

धेरैले परम्परागत तरिकाले धान खेती गरिरहेको अवस्थामा नगरपालिकाले अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरेपछि उत्पादन बढ्ने यहाँका किसानले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button