‘सूचनाको हक कार्यान्वयन गर्नु सबै सार्वजनिक निकायको जिम्मेवारी’

पर्वत । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन गर्नु सबै सार्वजनिक निकायको जिम्मेवारी रहेको बताउनुभएको छ ।
पर्वतको कुश्मामा सूचना हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रमुख सूचना आयुक्त गुरुङले सूचना प्राप्त गर्ने नागरिकको मौलिक हक रहेको र सूचना दिनुपर्ने सार्वजनिक निकायको दायित्व रहेकोले सूचना विनिमयमा सरोकारवाला निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पछिल्लो समय स्थानीय तह सम्बन्धि उजुरीहरू आयोगमा अत्यधिक मात्रामा आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा त्यो अवस्थालाई न्यूनीकरण गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो ।
उहाँले कानुनमा सूचनाको हकको व्यवस्था भएपनि सर्वसाधारणसम्म उक्त हकको बारेमा जानकारी नहुँदा सूचना माग्ने काममा विधि नपुगेको भए पनि विधि पुर्याएर सूचना दिने कुरामा सहजीकरण गर्न पनि अनुरोध गर्नुभयो ।
कानुनले बन्देज गरेका अपवाद बाहेक हरेक सूचना सार्वजनिक निकायले विभिन्न विधिमार्फत सार्वजनिक गर्नुपर्ने भन्दै प्रमुख सूचना आयुक्त गुरुङले यसले लोकतन्त्र र सुशासनलाई प्रवद्र्धन गर्ने बताउनुभयो ।
उहाँले सूचनाको हक कार्यान्वयनमा स्थानीय तह र विशेष गरी जनप्रतिनिधिहरू उत्तरदायी नदेखिएको उल्लेख गर्नुहुँदै त्यसतर्फ सचेत रहन समेत आग्रह गर्नुभयो ।
कुश्मा नगरपालिकाको व्यवस्थापनमा सञ्चालन भएको कार्यक्रममा आयोगका सचिव दिवस आचार्यले कार्यपत्र प्रस्तुत गर्दै आयोगले हालसम्म गरेका कार्यहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
सचिव आचार्यले पछिल्लो समय आयोगमा परेका उजुरीहरूको बारेमा समेत जानकारी गराउँदै सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकायहरूको अदूरदर्शिता कायमै रहेको समेत औँल्याउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले कुश्मा नगरपालिका सूचनाको हक कार्यान्वयनमा सधैँ अगाडि रहेको उल्लेख गर्नुहुँदै हरेक तीन महिनामा कानून बमोजिम स्वतः प्रकाशन गरिँदै आएको र सूचना प्रदानमा आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय सूचना आयोगका शाखा अधिकृत जीवन कुँवरले गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्य, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्