तपाईँ सुन्दै हुनुहुन्छः

मिडियाको सकारात्मक खबरदारी आवश्यक : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले देशको विकास र सुशासनका लागि सबैको सकारात्मक साथ सहयोगको अपेक्षा सरकारले खोजेको बताउनुभयो ।

रेडियो सुन्ने र रेडियोको समाचारमा भर पर्नेको सङ्ख्या धेरै रहेको उल्लेख गर्दै मन्त्री शर्माले यसको सवलीकरणमा राज्यले ध्यान दिने विश्वास दिलाउनुभयो ।

राजनीतिक दलमा आबद्ध भई बेथिति गर्नेहरूका कारण अहिलेको व्यवस्थामाथि नै प्रहार गर्न खोज्नु सह्य नहुने उहाँको भनाइ थियो । ‘हामीले प्राप्त गरेका उपलब्धि बचाउँदै मुलुकको विकास र सुशासन कायम गर्न रेडियोले हिजोका दिनमा जसरी आफ्नो भूमिका सशक्त बनाएर लैजानुपर्छ’, उहाँले भन्नुुभयो, ‘एक जना नेता, कर्मचारी, मिडियाकर्मी, व्यक्तिको कमजोरी गल्तीलाई संस्थागत रूपमा जोडेर व्यवस्थामाथि नै नकारात्मक भाव पैदा गर्ने काम कोही कसैबाट गरिनुहुँदैन । यसमा रेडियो मध्यपश्चिमले तटष्ठ, निष्पक्ष र स्वतन्त्र रूपमा अघि बढ्नुपर्छ ।’

दाङको निकै समस्याका रूपमा रहेको चारलेन सडक ठेक्का प्रक्रिया नयाँ रूपमा अघि बढेको जानकारी दिँदै मन्त्री शर्माले भारतीय निर्माण कम्पनीले लिएको घोराही तुलसीपुर सडकको ठेक्का तोडिएको बताउनुभयो । ‘ठेक्काको काम तोडिएको छ, अब नयाँ प्रक्रियामा अघि बढेको छ । यो बाटो अब छिट्टै अर्को प्रक्रियामा जान्छ’, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button