तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व राष्ट्रसेवक कर्मचारीहरूको क्षमता र अनुभवलाई राज्यले उपयोग गर्नुपर्छ : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले पूर्व राष्ट्रसेवक कर्मचारीहरूको विवेक, क्षमता र अनुभवलाई राज्यले उपयोग गर्नुपर्ने बताउनुभएको छ । 

सेवा निवृत्त राष्ट्रसेवक संघ नेपालको चौथो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताउनुभएको हो । ‘पूर्व प्रशासकको रुपमा तपाईँहरूले हासिल गरेको विवेक, क्षमता र अनुभवलाई राज्यले कुनै न कुनै रुपमा उपयोग गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘राष्ट्रको सेवा गर्ने क्रममा तपाईँहरूले हासिल गर्नुभएको अनुभव राज्यका लागि सम्पत्ति हो, त्यसको राज्यले उपयोग गर्नुपर्छ भन्नेमा सरकार गम्भीर छ ।’

मन्त्री मोदीले जनताको सेवा नै सबैको प्राथमिकता रहेको बताउँदै भन्नुभयो, ‘सेवा निवृत्त हुनुभएका तपाई राष्ट्रसेवकहरुबाट सिक्नुपर्ने कुरा धेरै छ । देश र जनताको इमानदारितापूर्वक सेवा गरेकाहरू अधिकार र सेवा सुविधाबाट बञ्चित भइराखेका पनि छन्, सङ्गठित रुपमा तपाईँहरूले राज्यलाई घच्घच्याइरहनुभएको छ, यो कार्य प्रशंसनीय छ ।’ 

सेवा निवृत्त राष्ट्र सेवकहरूलाई यातायात र स्वास्थ्य उपचार सुविधामा सहुलियत दिने विषयमा सरकारले आवश्यक गृहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी सुशासन कायम गर्ने विषय नै सरकारको प्राथमिकता भएको मन्त्री मोदीको भनाई थियो । ‘बरण्डामा रहेका कर्मचारीहरू सम्बन्धित मन्त्रालयमा पठाउनुस्, स्थानीय तह जो निमित्तले भरिएका छन्, उनीहरुलाई त्यहाँ पठाउनुपर्ने छ भनेर मैले आउनेवित्तिकै परिपत्र गरे’ मन्त्री मोदीले भन्नुभयो, ‘म आएपछि झण्डै एक सयको हाराहारीमा निमित्तको अन्त्य गरिसकेँ, यो क्रम जारी रहन्छ ।’

मन्त्री मोदीले रमाना नलिने र नदिने दुवै कर्मचारीलाई विभागीय कारबाही गर्नेगरी परिपत्र भइसकेको समेत बताउनुभयो । ‘जसको जहाँ सरुवा भएको छ, त्यहाँको लागि रमाना नलिने र कार्यालय प्रमुखले पनि रमाना नलिने गरी भइरहेको बेथिति अन्त्यका लागि ७ दिनभित्र रमाना लिन वा दिन मन्त्री स्तरीय निर्णयबाट परिपत्र भइसकेको छ’ उनले भने, ‘७ दिनभित्र यो प्रक्रिया पूरा गर्ने जोकोहीमाथि विभागीय कारबाही हुन्छ ।’

उनले बढुवा भएका कर्मचारीहरूलाई अनिवार्य रुपमा स्थानीय तहमा खटाएको समेत बताउनुभयो । ‘कसैको सोर्सफोर्स नसुनीकन बढुवा भएका कर्मचारीहरूलाई अनिवार्य रुपमा स्थानीय तहमा पठाएका छौँ’ उहाँले भन्नुभयो । 

वि.स. २०५३ सालमा स्थापना भएको यो सङ्गठनमा देशभरका सेवा निवृत्त निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, नर्स, डाक्टर, इन्जिनियर लगायत सङ्गठित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button