तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानको स्वागत

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको सङ्गठित प्रयासबारे हाल भइरहेको तदारुकतापूर्ण अनुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले स्वागत गरेको छ ।

हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबाबबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबिन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने प्रपञ्च नरचियोस् एवं अपराधीहरू जुनसुकै पद तथा तहका भए पनि तिनलाई हदैसम्मको कारबाही होस् भनी टिआई नेपाल जोडदार माग गरेको अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असुली गर्ने र कीर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लूट र मानव तस्करीको सङ्गठित अपराध मात्र नभई राज्यविरुद्धको, नागरिक विरुद्धको र मानवता विरुद्धको अक्षम्य अपराध समेत भएको उहाँले बताउनुभयो ।

कुनै पनि प्रकारको दबाब र प्रभावबाट मुक्त निष्पक्ष छानबिन गरी सबै पद र तहका समस्त अपराधीमाथिको निर्मम कारबाही मात्र यस प्रकरणको उपचार हो भन्ने टिआई नेपालको धारणा रहेको अध्यक्ष प्रधानाङ्ग बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button