तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश खेलकुद प्रतियोगिताको मिति परिवर्तन

मकवानपुर । बागमती प्रदेश खेलकुद प्रतियोगिताको मिति सरेको छ । यही वैशाख २९ गतेदेखि हुने भनिएको प्रतियोगिता आगामी जेठ ७ गतेदेखि हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।

कक्षा १२ को वार्षिक परीक्षा, बजेटको तयारी र हालै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएकोले परिषद्ले बुधबार प्रतियोगिताको पूर्वनिर्धारित मिति सार्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । प्रदेश खेलकुद प्रतियोगिताको दोस्रो संस्करणमा १३ वटा खेल समावेश गरिँदै छ ।

पहिलो संस्करणमा फुटबल, भलिबल, एथ्लेटिक्स, बक्सिङ, ब्याड्मिन्टन, कराँते, तेक्वान्दोसहित ८ वटा खेल समावेश गरेको प्रदेश खेलकुदको दोस्रो संस्करणमा रग्बी, उसु, आइटीएफ तेक्वान्दो, पौडी र जुडो खेल थप गर्न लागेको सदस्य सचिव भण्डारीले बताउनुभयो ।

दोस्रो संस्करणको प्रतियोगिताका १३ खेलमध्ये मकवानपुरमा ११ वटा खेल हुनेछ भने चितवनमा क्रिकेट र काठमाडौँमा पौडी खेल हुनेछ । पहिलो संस्करणमा खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी गरी २ हजार २ सयको सहभागिता रहेको थियो भने दोस्रो संस्करणमा ४ हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रतियोगिताको उद्घाटन र समापन हेटौँडा स्थित पिप्ले–क्याम्पा रङ्गशालामा हुने जानकारी सदस्य सचिव सूर्यलाल भण्डारीले दिनुभयो ।
प्रदेश खेलकुदका लागि परिषद्ले ९ करोड ६७ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button