डोल्पामा जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने
डोल्पा । डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ ।
जिल्ला समन्वय समितिको आज सदरमुकाम दुनैमा बसेको बैठकले से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन जेठ १ गते र असार १ गतेसम्म खुला गर्ने निर्णय गरेको हो ।
बैठकमा डोल्पा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्लामा अवस्थित सुरक्षा निकायका प्रमुख, से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका पदाधिकारी, डिभिजन वन कार्यालयका प्रमुख तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
बहुमूल्य जडीबुटीका रूपमा लिइने यार्सागुम्बा डोल्पा जिल्लाका स्थानीय लगायत छिमेकी जिल्लाका स्थानीयको आम्दानीको स्रोत हो । प्रायःजसो स्थानीयहरू यार्सागुम्बा सङ्कलनबाट प्राप्त आम्दानीले बालबच्चा पढाउने, घर खर्च चलाउने गर्छन् ।
कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा खुला रूपमा सङ्कलन गर्न नपाएको भन्दै यसपटक विभिन्न तयारीका साथ एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो ।
यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्रिय निकुञ्ज ऐन र नियमावलीअनुसार फरक–फरक प्रवेश शुल्क तोकिएको छ । यार्सा पाटनमा यार्सा सङ्कलन गर्न जाँदा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका बासिन्दाले रु पाँच सय, निकुञ्ज जिल्लाभित्रका बासिन्दाले रु दुई हजार र जिल्ला बाहिरबाट यार्सा सङ्कलन गर्न आउनेले रु तीन हजारका दरले प्रवेश शुल्कबापत तिर्नुपर्नेछ ।







प्रतिक्रिया राख्नुहोस्