‘विपद् जोखिमको सूचना प्रत्येक व्यक्तिसम्म पुग्ने संयन्त्र प्रभावकारी बनाऔँ’
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिमको सूचना प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रको विकास गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आयोजित ‘विपद् जोखिम व्यवस्थापन : नीतिगत व्यवस्थादेखि अभ्याससम्म’ विषयक कार्यशालामा उहाँले विपद् जोखिम न्यूनीकरणका साथै रोकथामका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले पुनः निर्माण र पुनः स्थापनामा प्राधिकरणसँगै सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले जिम्मेवार भई समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले आगलागीका घटनामा अग्नि नियन्त्रण र वारुणयन्त्र व्यवस्थापनको कार्यमा स्थानीय तहलाई थप सहयोग गर्ने संयन्त्र निर्माणका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहलाई विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र केन्द्रित नगरी दीर्घकालीन व्यवस्थापनमा जोड दिन सुझाव समेत दिनुभयो ।
कार्यशालामा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनका लागि प्रदेश र सङ्घबिच समन्वय गर्न महानगर तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको विपद् व्यवस्थापनसम्बन्धी अनुसूची ९ ले व्यवस्था गरेअनुसार सङ्घ र प्रदेशसँग सहकार्यमा राष्ट्रियस्तरको ड्रिलको व्यवस्थापन गर्न ललितपुर महानगर तयार छ ।”
कार्यशालामा नेपालका लागि चीनका राजदूत छन् सोङ्ले विपद् व्यवस्थापनका लागि चीनले गरेको अभ्यासबारे चर्चा गर्दै नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रा डा विशालनाथ उप्रेतीले भूकम्पको जोखिमबारे सचेत गराउँदै पूर्व तयारीका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।
गृह मन्त्रालय, ललितपुर महानगरपालिका र राजनीतिशास्त्र अध्ययन सङ्घसँगको सहकार्यमा संयुक्त रूपमा आयोजित कार्यशालामा सरकारी, गैरसरकारी सङ्घसंस्था, विज्ञ, स्थानीय तह र सुरक्षा निकायको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्