तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण एसियाली राष्ट्रमा पनि अन्तरव्यवस्थापिका सङ्घ बनाउन खोजेका छौँ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । रुसको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीबीच भेटवार्ता भएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले कमनवेल्थ राष्ट्रमा जस्तै दक्षिण एसियाली मुलुकका व्यवस्थापिका संसद्हरूको अन्तरव्यवस्थापिका सङ्घ बनाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले यस्तो सङ्घ बनाउन दक्षिण एसियाली राष्ट्रहरूको सहयोग सङ्गठन (सार्क) क्रियाशील बन्न नसक्दा कठिनाइ भइरहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।  

अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद् दक्षिण पूर्वी एसियाली मुलुकहरूको अन्तरव्यवस्थापिका सङ्घ (आइकाओ)को पर्यवेक्षक सदस्य बनेको चर्चा गर्दै कमनवेल्थ राष्ट्रको अन्तरव्यवस्थापिका सभामा पनि पर्यवेक्षक सदस्य बनेर काम गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले यस्ता अन्तरव्यवस्थापिका सङ्घमा आबद्ध हुँदा ती देशका व्यवस्थापिका सञ्चालनसम्बन्धी अनुभव आदानप्रदान हुने तथा त्यसले सङ्घमा आबद्ध देशहरूका बीचमा आपसी सहकार्यलाई समेत बढाउने विश्वास व्यक्त गर्नुभयो ।

अर्को प्रसङ्गमा भौगोलिक रूपमा सानो भए पनि देश जातीय, भाषिक, सांस्कृतिक मात्रै नभई जैविक विविधता भएको देश भएको बताउँदै कमनवेल्थमा आबद्ध देशहरूका पर्यटकहरूलाई नेपाल स्वागत गर्न आतुर रहेको पनि उल्लेख गर्नुभयो ।

सो भेटमा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीले अन्तरव्यवस्थापिका सभाको काम अत्यन्त प्रभावकारी भएको चर्चा गर्दै आतङ्कवादको विरुद्ध तथा युवा सशक्तीकरण र पर्यटनको विकासका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको जानकारी गराउनुभएको थियो ।

अध्यक्ष तिमिल्सिनासँग आजै सेन्ट पिर्टसबर्ग सिटीको व्यवस्थापकीय सभाका अध्यक्ष अलेक्जेन्डर ब्लेस्कीले पनि शिष्टाचार भेट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button