रारामा पर्यटकको कमी, व्यवसायी मर्कामा

मुगु । हरेक नयाँ वर्षको शुरुवात सँगै पर्यटकहरूले भरिभराउ हुने राराका होटेलहरू यो वर्ष भने फाटफुट बाहेक सुनसान जस्तै बनेका छन् ।
गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा धेरै मात्रामा आन्तरिक तथा बाह्य पर्यटक आउने अपेक्षा गरिए पनि हाल रारा घुम्न आउने पर्यटकहरू फाटफुट रुपमा आउन थाले पछि रारा ताल आसपासका होटेलहरूका साथै रारा क्षेत्र सुनसान जस्तै बनेका हुन् ।
गत आर्थिक वर्षमा नयाँ शुरु हुनु भन्दा अगावै होटेलका कोठाहरू खचाखच पर्यटकले भरिभराउ हुने गरेकोमा यस बर्ष भने होटेलका सबै कोठाहरू खाली नै हुने गरेको राराका पर्यटन व्यवसायी अनुराग बमले जानकारी दिनुभयो ।

“अर्का पर्यटन व्यवसायी देवीकृष्ण रोकायाका अनुसार हाल आफ्नो होमस्टेमा अपेक्षा गरेअनुसारका पर्यटक नआएपनि सामान्य रुपमा कमाई हुने गरेको छ । यहाँ आएका पर्यटकहरूलाई सेवा सुविधा दिनका लागि पुँजीको अभाव छ ।
यता मुर्माको जग्गा धितो राखेर ऋण लिनको लागि बैङ्क तथा वित्तीय संस्थाहरूले धितो नलिने भएकाले लगानी नहुँदा होटेलमा भनेअनुसारकाे सेवा सुविधा दिन नसकिएका हो”
रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष ०७८/७९ मा ११ हजार ४ सय ५१ जना नेपाली र ८४ जना विदेशी गरी जम्मा ११ हजार ५ सय ३५ जना पर्यटकहरू रारा घुम्न आएका थिए भने यस चालु आर्थिक वर्षको चैत मसान्त सम्म जम्मा ४ हजार ६ सय १३ नेपाली २१ जना सार्क र १ सय ३२ जना विदेशी गरी जम्मा ४ हजार ७ सय ६६ जनाले राराको भ्रमण गरेका थिए ।

आर्थिक वर्ष ०७९/०८० लाग्न करिब ३ महिना बाँकी रहँदा रारा घुम्ने उपयुक्त समयमा पनि चहलपहल नदेखिए पछि यस चालु आ.व.मा पर्यटकको सङ्ख्या घट्ने सम्भावना देखिएको हो । नेपालकै ठुलो र गहिरो अनि पर्यटकीय सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि रारामा पर्यटकको सङ्ख्या घट्दो क्रममा हुनुले देशको आर्थिक समृद्धिमा कमी आएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठको भनाई छ ।
उहाँका अनुसार घुम्न आएका पर्यटकहरूलाई सामान्य खानपान र बासको व्यवस्थापन भएपनि कर्णाली राजमार्गको स्तरोन्नति नहुनु, रारामा सुविधा सम्पन्न होटेलका साथै स्थानीय खानाका परिकारको व्यवस्थामा कमी र स्थानीय जीवन शैली झल्किने खालका नाटकका साथै सांस्कृतिक प्रदर्शनीको उचित व्यवस्थापन नहुनुले रारा घुम्न आउने पर्यटकहरूको सख्यामा कमी आएको संरक्षण अधिकृत श्रेष्ठको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्