तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन अपडेट : चितवनकाे एक केन्द्रमा मतदान रोकियो, शान्तिपूर्ण रुपमा मतदान जारी 

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि भइरहेको तीन वटै जिल्लाको उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । 

तनहुँ १, चितवन २ र बारा २ मा बिहान ७ः०० बजेदेखि मतदान जारी छ ।

जारी मतदानमा तनहुँ क्षेत्र नम्बर १ मा दिउँसो ३ः००बजेसम्ममा ४२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । 

अहिलेसम्म तनहुँ–१ का सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

यता, चितवन क्षेत्र नम्बर २ मा पनि  शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहान ७ः०० बजेदेखि भएको मतदानमा अपराह्न साँढे २ बजेसम्म ५१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय चितवनले साँझ ५ः०० बजेसम्म ६० प्रतिशत मत खस्ने प्रक्षेपण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित नयाँ किरण मावि मतदान स्थलमा १२ बजे केही विवाद सिर्जना हुँदा मतदान स्थगित भएको र हाल मतदान सुचारु गर्न छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।

नयाँ किरण मावि मतदान केन्द्रमा विवाद भएपनि अन्य सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

यस्तै, बारा क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । बारामा जारी उपनिर्वाचनमा छिटफुट घटनाबाहेक शान्तिपूर्वक रुपमा मतदान भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा  दिउसो २ः०० बजेसम्म ४० प्रतिशत मत खसेको छ । 

देवताल गाउँपालिका वडा नम्बर ७ पिपरपाती बुथ केन्द्रमा निर्वाचन बिथोल्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बारामा जारी मतदान बिथोल्न खोज्ने रौतहट जिल्ला बौधीमाई नगरपालिका ४ का बृजकिशोर प्रसाद यादव, रौतहट वृन्दावन नगरपालिका १ का दायाराम राउत र उमेश यादव पक्राउ परेका छन् । 

यस्तै, बारा जिल्ला प्रसौनी गाउँपालिका ४ का मङ्गल प्रसाद साह, बारा कै देवताल गाउँपालिका ७ का रामसागर यादवलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनुभयो ।  

गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रहरूमा उपनिर्वाचन भएको हो ।

यसैगरी, चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उहाँको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो ।

(किरण श्रेष्ठ (तनहुँ), सूर्य अधिकारी (चितवन), सिकेन्द्र पासवान (बारा) मार्फत )

प्रतिक्रिया राख्नुहोस्

Back to top button