‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानलाई निरन्तरता दिनुपर्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनलाई फेरि पनि एकताबद्ध बनाउने अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले कम्युनिष्ट आन्दोलन नेपालमा अझै पनि लोकप्रिय रहेकाले सही विचार, नीति र भावनात्मक रूपले रुपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले विगतमा कम्युनिष्टहरुबीच एकता हासिल गर्ने प्रक्रियामा भएका त्रुटिलाई सच्याउँदै लैजानुपर्ने बताउनुभयो ।
उहाँले विगतमा विचार, नेतृत्व, कार्यशैली र संस्कारलाई उचाइमा पुर्याउन नसकेको विषयलाई समीक्षा गर्दै सकारात्मक वातावरण निर्माण गरेर फेरि पनि कम्युनिस्टबिच एकता हुनुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री दाहालले देशको समग्र राजनीति र आर्थिक विकासको प्रक्रिया विचार, सिद्धान्त, मूल्य र आदर्शबाट विचलनतिर जाने खतरा बढेकोले सबै सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले अराजकतातिर गइरहेको राजनीतिलाई सुधार्न बुद्धिजीवीहरूले भूमिका खेल्नुपर्नेमा पनि जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले नेपालमा कुनै एक दलको स्पष्ट बहुमत आउने अवस्था नभएकोले संविधानको भावना अनुसार गठबन्धन संस्कृतिलाई विकसित गर्न आफूहरू लागिरहेको बताउनुभयो ।
अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष चलाएर यसका माध्यमबाट जनतालाई सेवा दिने उहाँले स्पष्ट पार्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्