तपाईँ सुन्दै हुनुहुन्छः

‘मित्र तथा छिमेकी राष्ट्रहरू सँगको सम्बन्धलाई थप घनिष्ठ बनाइने’

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाललाई विश्व मञ्चमा शान्तिप्रिय र लोकतान्त्रिक मुलुकका रुपमा परिचित आफ्नो भूमिका रहने बताउनुभएको छ ।

मन्त्रालयमा आज कार्यभार ग्रहण गर्नुहुँदै मन्त्री साउदले विश्वका सबै मित्रराष्ट्र तथा छिमेकी राष्ट्रहरू सँगको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै लैजाने र नेपाललाई लोकतान्त्रिक र शान्तिप्रिय मुलुकका रुपमा परिचित बनाउन भूमिका खेल्ने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीबारे सञ्चारकर्मीको प्रश्नमा मन्त्री साउदले मन्त्रालयका कर्मचारी सचिव तथा यस क्षेत्रमा काम गरिरहेका कर्मचारीहरूसँग छलफल गरी प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

आज नै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस्तै राष्ट्रपति कार्यालयमा आयोजित सोही समारोहमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चापाइलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

नवनियुक्त परराष्ट्रमन्त्री साउद नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा कञ्चनपुरको निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद हुनुहुन्छ भने राज्यमन्त्री चपाई नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट राष्ट्रिय सभामा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button