परिक्रमा सडकको शीघ्र निर्माणको माग गर्दै सडक अवरुद्ध

जनकपुरधाम । जनकपुरधामको धार्मिक तथा ऐतिहासिक महत्त्वका परिक्रमा सडक यथाशीघ्र निर्माण हुनुपर्ने माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
स्थानीयले जनकपुरधामको ऐतिहासिक ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयको पछाडि सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । उनीहरूले भ्रमरपुराचोकदेखि बलबाटोल प्रहरी चौकी, ज्ञानकूप विद्यालय हुँदै, पिडारीको रेल्वे लिकसम्मको बाटो अवरुद्ध गरेका छन् ।
केही महिना अगाडि तत्कालीन शहरी विकास मन्त्री मेटमनि चौधरीले परिक्रमा सडकको रेल्वे ट्रयाकदेखि भ्रमरपुरा चोकसम्म निर्माण गर्ने गरि शिलान्यास गर्नुभए पनि सडक ठेक्का लाग्न नसकेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको स्थानीय बाँसी रामचन्द्र साहले बताउनुभयो ।
सडक निर्माणको काम चाँडो पुरा गर्न माग गर्दै स्थानीयले करिब एक घण्टा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । तत्काल सडक कालोपत्रे गरी धुलो र हिलोमुक्त बनाउनुपर्ने माग पनि उनीहरूको छ ।
निर्माणाधीन सडकखण्ड लामो समयसम्म कालोपत्र नहुँदा व्यापार व्यवसाय चौपट हुनुका साथै आवतजावतमा समेत कठिनाइ भएको स्थानीय भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्