संसदमा सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस

काठमाडौँ । बैतडीमा भएको सवारी दुर्घटना, मिटर ब्याज, स्मार्ट टेलिकमको नवीकरण र समान पेन्सनका लागि गोर्खा सैनिकद्वारा भइरहेको आन्दोलनबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै सांसद भानुभक्त जोशी भारतका विभिन्न स्थानमा श्रम गरी जन्मथलो बझाङ फर्कने क्रममा बैतडीमा भएको सवारी दुर्घटनामा छ जना मृत्यु हुनका साथै पाँचजना घाइते भएको जानकारी दिनुभयो ।
उहाँले दुर्घटनामा परेका परिवारजनले घाइतेको उपचार र क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेकाले समस्याको समाधानका लागि उचित पहल गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
सांसद ज्ञानबहादुर शाहीले जुम्लासहित कर्णाली प्रदेशमा ठूलो सङ्ख्यामा मानिसहरू मिटर ब्याजको चपेटामा परेकोबारे सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “वास्तविक मिटर ब्याजको काम सरकारले नै गरिरहेको छ, विकाससहित पूर्वाधार निर्माणमा लगाउनुपर्ने पैसा सरकारी खातामा राखेर ब्याज खाइरहेको छ, सरकारको ब्याज खाने कार्यले विकास निर्माणका ठप्प भएको र ठेकेदारले रकम निकासा पाउन नसकेको अवस्था छ ।”
सांसद पदम गिरीले सरकारले स्मार्ट टेलिकम प्रालिलाई नवीकरण शुल्क नलिई २५ वर्षका लागि अनुमति दिन लागेको सूचना प्राप्त भएकाले त्यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त कम्पनीले पहिलेको रु पाँच अर्ब भुक्तान गर्न बाँकी रहेको तथा अहिले नवीकरण दस्तुर रु २३ अर्ब तिनुपर्नेमा मन्त्रिपरिषद्ले त्यसमा भारी छुट दिएर नवीकरण गर्न लागेको भन्ने सूचना प्राप्त भएको छ । यो कार्य नीतिगत भ्रष्टाचार भएकाले रोकिनुपर्छ ।”
सांसद मानवीर राईले जीवनको महत्वपूर्ण ऊर्जाशील समय बेलायतका लागि लडेका गोर्खा सैनिक समान पेन्सनका लागि आन्दोलन गरिरहेकाले उनीहरूको माग मुद्दाको पक्षमा उभिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “समान पेन्सनका लागि गोर्खा सैनिक आन्दोलनमा रहेकाले आगामी हुने वार्तामा अन्यायमा परेका आफ्ना नागरिकको पक्षमा बेलायतसँग गम्भीरताकासाथ प्रस्तुत हुन आवश्यक छ ।







प्रतिक्रिया राख्नुहोस्