तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा मेयर कप टि २० क्रिकेट प्रतियोगिता शुरु

जनकपुरधाम । जनकपुरधाममा आजदेखि जनकपुरधाम मेयर कप टि २० क्रिकेट प्रतियोगिता २०७९ शुरु भएको छ ।

जनकपुरधामको रजौलमा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा शुरु भएको प्रतियोगितामा १२ टिमको सहभागिता छ । नक आउटको आधारमा खेलाइने प्रतियोगिता वैशाख १ गतेसम्म चल्नेछ ।

मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साका टिमका साथै कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका टिम पनि प्रतियोगितामा सहभागी हुने छन् ।

“अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद” मूल नारासहित आज परेको विश्व खेलकुद दिवसको अवसर पारेर शुरु भएको प्रतियोगिताका विजेतालाई २ लाख ५१ हजार नगद, शिल्ड तथा प्रमाणपत्र तथा उपविजेता टिमलाई १ लाख ५१ हजार नगद शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिताको समन्वय जिल्ला क्रिकेट संघ तथा सहयोग गर्ने फ्याक्ट नेपाल र नविल बैंकको रहेको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा वक्ताहरूले मधेश प्रदेशको गौरवको योजना घोषणा गरेर रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि तीन तहका सरकारले बजेटको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण गरी विक्रम सम्बत २०८३ मा हुने ११ औँ राष्ट्रिय खेलकुदका कार्यक्रम जनकपुरधाममा नै हुने गरी काम गरिने बताउनुभयो ।

उद्घाटन खेल धनुषाले विजय सुरुआत गरेको छ । धनुषाले टस जितेर २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो भने प्रतिउत्तरमा व्याटिङ्ग गरेको महोत्तरीले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय १५ रन मात्र बनाउन सक्यो । धनुषा टिम ३२ रनले विजयी भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button