तपाईँ सुन्दै हुनुहुन्छः

एसियाकै दोस्रो लामो पुलको मर्मत–संभार सम्पन्न

कञ्चनपुर । कञ्चनपुरमा रहेको एसियाकै दोस्रो लामो झोलुङ्गे पुलको मर्मत संभारको काम सम्पन्न भएको छ ।

सुुदूरपश्चिम प्रदेश सरकारको करीब ५० लाख रुपैयाँको लगानीमा गत मंसिर २१ गतेदेखि शुरु गरिएको दोधारा–चाँदनी झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न भएको निर्माण कम्पनी खाम्पाचेर देवभूमि कन्स्ट्रक्सनका प्रोप्राइटर डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।

भट्टका अनुशार पुलमा २ सय ८८ स्टिल डेक, ६० आइबोल्ट र तार जाली पनि फेरिएका छन् । त्यस्तै, पुलमा रहेका १२ वटा सेक्सनका सम्पूर्ण नटबोल्ट कसिएका छन् भने सस्पेन्डर समेत सम्याइएको छ ।

पुलको मर्मत कार्य सम्पन्न भएपछि यात्रुहरुलाई आवत जावत गर्न सहज भएको छ भने जोखिम समेत घटेको स्थानियहरु बताउँछन् ।

१५ वर्ष पहिले निर्माण गरिएको १ हजार ४५२.९६ मिटर लम्बाई र १.६ मिटर चौडाईको पुल निर्माण भएपछि महाकाली नदी पारीको माहाकाली नगरपालिका र महाकाली नदी वारीको भीमदत्त नगरपालिका सहित नेपालका अन्य भूभागको प्रत्यक्ष आवागमन शुरु भएको थियो । त्यस अघि भारतको बाटो भएर आवत जावत गर्ने गरिन्थ्यो ।

दोधारा–चाँदनी झोलुङ्गे पुलको मर्मतका लागि वर्षौँदेखि स्थानीय सहित सञ्चारमाध्यम र सरोकारवालाहरुले आवाज उठाउँदै आएका थिए ।
पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलमा हाल दैनिक ३ हजार भन्दा बढी व्यक्तिहरुले आवतजावत गर्ने गर्दछन् । यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरु झोलुङ्गे पुलको अवलोकन गर्न आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button