टीकापुर साहित्य महोत्सवको तयारी अन्तिम चरणमा
समाजद्वारा तीनवटा पुरस्कार घोषणा

टीकापुर, कैलाली । यही चैत्र २५ गतेदेखि टीकापुरमा हुने टीकापुर साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आज पत्रकार सम्मेलन गरि महोत्सव स्थलको तयारीदेखि महोत्सवमा आउने पाहुनाहरूको पनि तय भएको आयोजक टीकापुर साहित्य समाजले जानकारी दिएको छ ।
सिद्धार्थ होटलको प्राङ्गणमा यही चैत्र २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीति लगायतका २० वटा सत्रमा छलफल हुनेछ । ती छलफलमा सहभागी हुने सहजकर्ता र बहसकर्ताको पनि टुङ्गो लागिसकेको आयोजक साहित्य समाजका अध्यक्ष महेश विक्रम शाहले जानकारी दिनुभयो ।
साहित्य महोत्सवलाई कुनै तडकभडक र खर्चिलो नगरी साहित्य महोत्सवकै रुपमा सम्पन्न गर्ने निधो गरेको उहाँले बताउनु भयो । महोत्सवको उद्घाटन लेखक तथा विश्लेषक डाक्टर सिके लालबाट साहित्य मार्फत सामाजिक सद्भाव विषयक प्रवचनबाट गरिने अध्यक्ष शाहले बताउनुभयो ।
महोत्सवमा सहभागिताका लागि यसअघिका टीकापुरमा हुने महोत्सवका जसरी कुनै शुल्क तिर्नु नपर्ने र महोत्सव निःशुल्क रुपमा हेर्न पाईने छ । महोत्सवमा देशका चर्चित लेखक, साहित्यकार, पत्रकारहरूको उपस्थिति रहने आयोजकले बताएको छ ।
समाजद्वारा तीनवटा पुरस्कार घोषणा
टीकापुर साहित्य समाजले तीन वटा पुरस्कार घोषणा गरेको छ । यही चैत २५ गतेदेखि शुरु हुने टीकापुर साहित्यिक महोत्सवको अवसर पारी प्रदान गरिने पुरस्कारको टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले आज पत्रकार सम्मेलनमार्फत घोषणा गर्नु भएको हो ।
समाजले एक लाख राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार २०७८ थोमस वर्गिज र मेरी वर्गिजलाई अर्पण गर्ने जानकारी गराएको छ । टीकापुरमा योजनाबद्ध शहरको परिकल्पनाकार तत्कालीन मन्त्री स्वर्गीय खड्गबहादुर सिंहको सम्झनामा स्थापना भएको सो पुरस्कार वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय हाल वीरेन्द्र विद्या मन्दिर मावि स्थापना गरी लामो समय यहाँका नागरिकका सन्ततिलाई शिक्षा दिने काममा योगदान गरे बापत दिइन लागेको हो । वर्गिजले नेपालका विभिन्न ठाउँमा विद्यालय खोलेर अङ्ग्रेजी माध्यमको पढाइ विस्तार गर्नु भएको छ ।
यस्तै ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार गायिका अनु चौधरीलाई प्रदान गरिने भएको छ । सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार युवा अवस्थामै नेपाली, खस र थारु भाषामा लोकप्रिय गीतहरू गाएर भाषा र कलाको उन्नयन र प्रवद्र्धनमा साधनारत चौधरीलाई प्रदान गरिन लागेको हो ।
यस्तै २५ हजार राशिको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका उच्च माविबाट सर्वोत्कृष्ट नतिजा ल्याउनु भएका गणेश बाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई दिने निर्णय गरेको छ ।
२०७८ माघ २४ गते स्थापना भएको टीकापुर साहित्य समाजले साहित्यमार्फत सामाजिक सद्भाव भन्ने उद्देश्य राखेर यही चैत २५ देखि २७ गतेसम्म टीकापुरमा साहित्य महोत्सव आयोजना गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्