चुरे संरक्षणको हालसम्मको अवस्था र भावी कार्ययोजनाबारे समितिमा छलफल
काठमाडौँ । राष्ट्रिय सभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको हालसम्मको कार्यान्वयन अवस्था, समस्या तथा भावी कार्ययोजना, नेपालका काष्ठजन्य वन पैदावारको उच्चतम उपयोग, उत्पादन तथा आपूर्ति र विदेशबाट हुने आयात विस्थापन सम्बन्धमा छलफल भयो ।
सिंहदरबारमा आज आयोजित बैठकमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले समितिले हाल सम्म गरेका काम प्रगति विवरण सङ्गठनात्मक स्वरूप, कार्यक्षेत्र र क्रियाकलापका बारेमा समिति समक्ष कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उहाँले चुरे विनाश हुनुका कारण र यसबाट सिर्जित समस्याका बारेमा पनि जानकारी गराउनुभयो ।
यस्तै बैठकमा बन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक नवराज पुडासैनीले नेपालमा पर्याप्त काठ हुँदाहुँदै विदेशबाट फर्निचर सामग्री आयात हुनु दुखद रहेको बताउनुभयो ।
उहाँले नेपालका संघ प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले स्वदेशमा उत्पादित फर्निचर प्रयोग गर्ने वातावरण बनाउन सके देशको व्यापार घाटा कम गर्न सकिने बताउनुभयो ।
बैठकमा सांसदहरूले आयातित फर्निचरको प्रयोग निरुत्साहित गर्न सम्बन्धित मन्त्रालयले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्