विगत वर्षलाई फर्केर हेर्दा……

काठमाडौँ । “राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार” रेडियो नेपालले संसारमा आएको नवीनतम प्रविधिहरूको उपयोग गर्दै आफ्नो प्रसारण सेवा करिब ९२ प्रतिशत जनसङ्ख्यामा पुर्याएको छ ।
रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले प्रस्तुत गर्नुभएको प्रतिवेदन वार्षिक गतिविधि २०७९ मा २०७९ वैशाखदेखि २०७९ चैत्र १५ गतेसम्म रेडियो नेपालले सम्पन्न गरेका मुख्य मुख्य उपलब्धिहरूको चर्चा गरिएको छ ।
प्रतिवेदनमा कार्यकारी निर्देशक केसीले भन्नुभएको छ “विगत वर्षहरूदेखि नै रेडियो नेपालले आफ्नो प्रसारण भुसतही र डिजिटल दुवै प्रविधिमा सञ्चालन गरिरहेको कारण रेडियो नेपाल, नेपाल भित्र र विदेशका जुनसुकै ठाउँमा पनि सुन्न सकिन्छ । हाल रेडियो नेपालले मिडियम वेभ, एफ.एम. र डिजिटल प्रविधि मार्फत आफ्ना सेवाहरू सञ्चालन गरिरहेको छ । डिजिटल प्रविधिमा रेडियो नेपाल एप्स, ओ.टी.टी., न्युज पोर्टल र सोसल मिडियामार्फत आफ्नो प्रसारणलाई विश्वभरि फैलाएको छ । यसै वर्षदेखि डि.आर. एम. प्रविधिमा पनि रेडियो नेपालले आफ्नो प्रसारण सञ्चालन गर्ने तयारी गरिसकेको छ । श्रोताको रोजाई र सुलभ प्रविधिका कारण नेपालमा एफ.एम. रेडियोहरूको लोकप्रियता बढ्दो छ । यसै तथ्यलाई मनन गरी रेडियो नेपालले एफ.एम. व्याण्डमा देशैभरि आफ्नो प्रसारण पहुँच वृद्धि गर्दै लैजाने लक्ष्य लिएको छ । एफ.एम.÷ए.एम. को डिजिटल प्रविधिमा रुपान्तरणका लागि आवश्यक अध्ययन प्रतिवेदन तयार गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको छ ।”
१५ औँ पञ्चवर्षीय योजना सम्ममा रेडियो प्रसारणको पहुँच शत प्रतिशत भू–भागमा पु¥याउने नेपाल सरकारको नीति अनुरुप यस वर्ष गण्डकी प्रदेश पर्वत जिल्लाको दुर्लङ्गकोट, कोशी प्रदेश पाँचथर जिल्लाको सिलौटीडाँडा र लुम्बिनी प्रदेश दाङ जिल्लाको चौपट्टामा एफ.एम. रिले स्टेसनमार्फत प्रसारण आरम्भ गरी प्रसारण पहुँच वृद्धिको योजनालाई निरन्तरता दिएको छ भने नयाँ स्थापना भएका एफ.एम. रिले स्टेसनहरूसहित रेडियो नेपालका एफ.एम. रिले स्टेसनहरूको सङ्ख्या ३० पुगेको प्रतिवेदनमा उल्लेख छ ।
रेडियो नेपालको प्रसारण पहुँच वृद्धिका लागि यसै वर्ष प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको स्टुडियोसहित कर्णाली प्रदेशका हर्रे चमेरे सुर्खेत, जुम्ला, कालिकोट र डोल्पाका एफ.एम. स्टेसनहरू सहित सुदूरपश्चिमको दार्चुला र बझाङ तथा कोशी प्रदेश अन्तर्गतको एफ. एम. रिले स्टेशन इलामको स्तरोन्नति गरिएको छ । स्तरोन्नति गर्ने क्रममै प्रसारण लिङ्क (आइ.पि.कनेक्टीभिटी) तर्फ २१ वटा स्टेसनहरूमा वैकल्पिक ओ.एफ.एल. लिङ्कको स्थापना गर्ने कार्य भइरहेको छ ।
त्यस्तैगरी रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाले प्रसारण क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै रेडियो प्रसारण क्षेत्रलाई थप विस्तार र समय सापेक्ष कार्यक्रमहरू मार्फत पूर्व क्षेत्रमा प्रचलित गीत सङ्गीत, कला, साहित्य, संस्कृति आदिको संरक्षण एवं खोज अध्ययन र अनुसन्धानमार्फत रेडियो नेपालको कार्य क्षेत्रलाई विस्तार गर्न विराटनगर महानगरपालिका वार्ड नं. ४ स्थित खार्जी चोकमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राममा स्टुडियो सञ्चालन भई रेकर्डिङ कार्य प्रारम्भ भएको छ ।
साथै रेडियो प्रसारण केन्द्रको इतिहास र तारिणीप्रसाद कोइरालाको जीवनीमा आधारित डकुमेन्ट्री (वृत्तचित्र) निर्माण गर्न सम्झौता भई कार्य प्रारम्भ भएको छ । रेडियो नेपाल र विराटनगर महानगरपालिका बीच भएको आपसी समझदारी अनुरुप तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको नाममा जग्गा हस्तान्तरणको लागि विराटनगर महानगरपालिकाले आवश्यक प्रक्रिया थालनी गरेको छ ।
रेडियो नेपालको वार्षिक गतिविधि २०७९ (पूर्णपाठ)







प्रतिक्रिया राख्नुहोस्