दूर सञ्चार ऐन परिमार्जन हुन्छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूर सञ्चार ऐन परिमार्जन गर्न लागिएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालको बिदाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले दूर सञ्चार ऐन २०५३ पुरानो भएकाले नयाँ सन्दर्भमा त्यसलाई परिमार्जन गर्न जरुरी भएको बताउनुभयो ।

मन्त्री शर्माले ऐन कानून, बजेट नीति तथा कार्यक्रम र सेवा प्रवाह गर्ने सम्बन्धमा सबैको विज्ञता, क्षमता प्रयोग गरेर सेवामुखी काम गर्ने गरी सरकार अगाडी बढिरहेको पनि बताउनुभयो ।
सञ्चार मन्त्रालयको सेवा प्रवाहलाई सरल, सहज बनाउने र जनताको पहुँचमा पुर्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरल र सहज ढङ्गबाट काम गर्ने हौसला प्रदान गरेको र संस्थाप्रतिको उत्तरदायित्व बोध हुने गरी काम गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले मन्त्रालयमा रहेर प्रविधिमैत्री बनाउने गरी काम गरेको बताउनुभयो ।
आफूलाई सहज र सरल ढङ्गबाट काम गर्न प्रोत्साहन गर्ने सबैप्रति आभार प्रकट गर्नुहुँदै सचिव डा. अर्यालले मन्त्रालयलाई आवश्यकता परेको खण्डमा आफ्नो सदैव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सचिव डा. अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएको छ । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्