तपाईँ सुन्दै हुनुहुन्छः

सहुलियत दरमा ऋण उपलब्ध गराउन मिटर ब्याज पीडितको माग

काठमाडौँ । सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने माग गर्दै मिटर ब्याज पीडितले आज प्रदर्शन गरेका छन् ।

मिटर ब्याज पीडित सङ्घर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा उनीहरूले मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याजविरुद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग राख्दै आज वीर अस्पतालको अगाडि सडकमा प्रदर्शन गरेका हुन् ।

विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका मिटर ब्याज पीडितहरूले महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि वीर अस्पताल नजिकै सडकमा प्रदर्शन गरेका हुन् ।

सङ्घर्ष समितिका संयोजक मनोज पासवानले आफूहरूलाई खुल्ला मञ्च प्रवेशमा रोक लगाएकोप्रति विरोध जनाउँदै न्यायका लागि अपिल गर्नुभयो । खुला मञ्चमा विरोध कार्यक्रम गर्न आइतबार नै महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे पनि त्यसबारे सुनुवाइ नभएको उहाँको भनाइ थियो । खुल्ला मञ्च प्रवेश गर्न नपाएपछि मिटर ब्याज पीडितहरूले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button