नेपालमै पहिलो पटक चन्द्रनगर गाउँपालिकामा कृषि मिटर वितरण शुरु
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कृषि मिटर वितरण शुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरण कार्यालय नगइकन गाउँपालिकामै कृषि मिटर वितरण गर्न थालेपछि किसानहरू खुसी भएका छन् ।
विद्युत् चुहावट अन्त्य गर्न विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको सङ्ख्या बढेको छ । विद्युत् मिटरका लागि किसानले मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था थियो । गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि किसानहरू हर्षित भएका छन् ।

गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रको समन्वयमा आजदेखि किसानहरूलाई कृषि मिटर वितरण शुरु गरेको हो । प्राधिकरणका कर्मचारीहरू गाउँपालिकामा नै आएर आवश्यक पक्रिया पुरा गरी मिटर वितरण सुरु गरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेश यादवले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्ष ०७९/८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गएको पुस २९ गते सम्पन्न १२ औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको थियो ।
सोही अनुरुप विद्युत् चुहावट अन्त्य गर्न चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो पटक कृषि मिटर गाउँपालिकाबाटै वितरण शुरु गरेको बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्