एनआरएनएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को अहम् भूमिका हुने बताउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा एनआरएनएका प्रतिनिधिसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै सङ्घले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्म भएको तनहुँको चुँदी रम्घामा राष्ट्रिय एकतालाई भावनात्मक रूपमा विकास गर्न बृहत् योजना ल्याइएको र त्यसमा सहभागी भई योगदान गर्न एनआरएनएका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।
एनआरएनएका कार्यकारी अध्यक्ष रविना थापा, अध्यक्ष कुल आचार्य र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले राष्ट्रपति पौडेललाई सङ्घको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाले उठाएका मुद्दाप्रति ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी राष्ट्रपति पौडेललाई नेपाल उद्योग परिसंघले बधाई ज्ञापन गरेको छ ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रको तर्फबाट राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिनुहुँदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको विषयमा निजी क्षेत्रको तर्फबाट सुझाव दिनुभयो ।
अध्यक्ष अग्रवालले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको भन्नुहुँदै अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने, ब्याजदर घट्नुपर्ने बताउनुभयो ।
सो अवसरमा परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्