एमालेको त्रासले बनेको गठबन्धनले देश बनाउन सक्दैन : विष्णु रिजाल

जुम्ला । नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले टाउकाको मूल्य तोक्ने र तोकिनेहरुबीचको सहकार्यले मुलुकलाई गन्तव्यहीन बनाएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पदका लागि मात्रै बनेको गठबन्धनले देशलाई क्षति मात्र गर्छ ।‘
पार्टीको मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लाको चन्दननाथ–८, रोकायबाडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले भन्नुभयो, ‘जसरी एउटा डोरी दुईतिरबाट बराबर बल लगाएर जति तान्दा पनि जहाँको त्यहीँ हुन्छ र बल खर्च भए पनि गति आउँदैन, त्यसैगरी दुई विपरीत दिशातिर फर्केका कांग्रेस र माओवादीले देशलाई अघि बढाउँछौँ भने जति गफ लगाए पनि विपरीत दिशातिर फर्केकाहरूको सहकार्यबाट देश अघि बढ्न सक्दैन ।‘
कुनै नीति तथा कार्यक्रममा आधारित नभई पदीय भागबन्डा र एमालेलाई कसरी एक्लो बनाउने भनेर एमालेको त्रासका कारण बनेको गठबन्धन भएकाले यसको सम्पूर्ण समय यसैमा बितिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘विदेशीका एजेन्डा, काँग्रेसको दक्षिणपन्थी र माओवादीको अवसरवादको चक्रब्युहमा देश फँसेको छ । यसबाट देशलाई मुक्त गर्नका लागि एमाले बहुमतसहित सरकारमा आउनुपर्छ ।‘वडा कमिटीका अध्यक्ष को अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले पनि बोल्नुभएको थियो ।
वडा कमिटी अध्यक्ष पदम सेजुवालको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य धनबहादुर थापा, जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाही, सदस्यहरु तिल रावल, चन्द्रलाल न्यौपाने, राम खत्री, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकायलगायतको उपस्थिति थियो ।
भेलाले सबै टोलमा पार्टी सदस्यता नवीकरण तथा विस्तारका लागि जिम्मेवारी बाँडफाँट गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्