दक्षिण कोरियाका २ सय बौद्ध तीर्थयात्री लुम्बिनीमा
रुपन्देही । दक्षिण कोरियाबाट बुद्ध स्थलको पैदल यात्रामा निस्केका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा मङ्गलवार स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन् ।

कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरूलाई रुपन्देही निर्वाचन क्षेत्र न ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी भिक्षु मैत्तय, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदल यात्रीहरूलाई बुद्ध जन्मस्थलमा खादा ओढाएर स्वागत गर्नुभयो ।
कोरियाली बौद्ध तीर्थयात्रीहरूको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्रार्थना गरेको थियो । त्यस अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लामो यात्रा गरेर बुद्ध जन्मस्थल लुम्बिनी आएका बौद्ध भिक्षु सहितको टोलीलाई स्वागत गर्दै नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध थप प्रगाढ बनेको बताउनुभयो । उहाँले नेपाल र दक्षिण कोरियाबिच धार्मिक रुपमा मात्रै नभई रोजगारीका हिसाबले पनि जोडिएको बताउनुभयो ।
नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरुसहितका तीर्थयात्रीहरूलाई बुद्ध जन्मस्थल मायादेवी प्राङ्गणमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्ध जन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको विचार राख्नुभयो ।
फेब्रुअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो । लुम्बिनीमा पछिल्लो समय बौद्ध देशहरूबाट बौद्ध धर्मगुरु र तीर्थयात्रीहरूको ठूलो–ठूलो समूह बुद्ध जन्मस्थल लुम्बिनी आउने क्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटनलाई ऊर्जा थपेको कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताउनुभयो । उहाँले चीनबाट पनि फेरी यस्तै ठूलो समूह लुम्बिनी आउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
टोलीमा दक्षिण कोरियाबाट त्यहाँको राष्ट्रिय सञ्चारमाध्यमको समेत सहभागिता थियो । कोरियाली बौद्ध धर्माम्बलम्बीहरुको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ ।







प्रतिक्रिया राख्नुहोस्