तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको पोखरिया क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नं ७ मा रहेको पोखरिया क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । 

पोखरीमा रहेको ताल तथा वरपरका रमणीय जङ्गलहरूका कारण यो क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको हो । 

खास गरेर वनभोज खानेहरूको दैनिक रुपमा नै सो क्षेत्रमा अत्यधिक भिड हुने गर्दछ । जनकपुरधाम आउने पर्यटकहरू एक पटक अवश्य नै पोखरीया जान चाहेका हुन्छ । विगत केही महिनादेखि पोखरीया क्षेत्रमा आन्तरिक पर्यटकहरू आउने क्रममा वृद्धि भएको छ । 

खास गरेर नगरपालिकाले सो ठाउँमा सुविधा सम्पन्न शौचालय, खानेपानीको व्यवस्था गरेका कारणले पिकनिक मनाउनेहरू अत्यधिक सङ्ख्यामा आउने गरेका छन् । 

मधेश प्रदेशको राजधानी जनकपुरधामभन्दा २५ किलोमिटर उत्तर भागमा रहेको र पूर्व पश्चिम लोकराजमार्गको छेउमा नै रहेको पोखरीया क्षेत्रलाई थप रमणीय बनाउनेतर्फ नगरपालिका तथा प्रदेश सरकारले लगानी गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । 

मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकसित भइरहेको मिथिला सागरमा टाढा–टाढाका पर्यटक घुम्न तथा पिकनिक (वनभोज) मनाउन आउने गर्दछन् । 

हरियाली जङ्गल, ताल–तलाउ, रमणीय चुरे पहाडको मनोरम दृश्यले जो कोहीलाई लोभ्याउने भएकाले मिथिला सागर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्रको रुपमा बन्न थालेको छ । 

पूर्व पश्चिम लोकराजमार्गको ढल्केवर चोकबाट तीन किलोमिटर उत्तर पोखरीया ताल रहेको छ । चारै तिर सालको घना जङ्गल छ । अनि उत्तरतिर रमणीय चुरिया पहाड रहेका छन् । जङ्गलमा रहेको चराचुरंगीका विभिन्न स्वरका कारणले सो क्षेत्रमा पुग्ने जो कोही आनन्दित हुने गरेको छन् । 

केमलीपुर र पोखरीया दमार सामुदायिक वनका सीमानामा सात बिगाहा क्षेत्रफलमा फैलिएको छ भने तालको बीच भागमा उत्तरेश्वर महादेव मन्दिरले तालको महत्त्व बढाएको छ । जङ्गल नजिक रहेको औरही खोलाबाट पाइपमार्फत तालमा चौबिसै घण्टा पानी झर्ने व्यवस्था गरिएको भएपनि अहिले पानी नपरेका कारणले तालको पानी सुक्न थालेको छ भने खोलामा नै पानी नआएपछि समस्या उत्पन्न भएको छ । 

यसैगरी तालको बीच भागमा रहेको मन्दिरको दक्षिण तर्फको पर्खाल पनि भत्किएको छ । विगतमा कुनै योजना बिना नै काम भएको भन्दै मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले पोखरीयालाई साँचो अर्थमा पर्यटकीय स्थल बनाउनका लागि व्यवस्थित डिपिआरको अभाव रहेकाले डिपिआर बनाएर तीनै तहको सरकारको सहयोगमा यस क्षेत्रलाई सुन्दर पर्यटकीय स्थलको रुपमा विकसित गरिने बताउनुभयो ।

उहाँले विगतमा बिना कुनै डिपिआर नै जथाभाबी रुपमा रकम खर्च गरिएको तर उपलब्धि थोरै भएको बताउनुभयो । 

अहिले दुई वटा ताल रहेकोमा अब एउटै ठूलो तालको रुपमा विकसित गर्ने पक्षमा नगरपालिका रहेको पनि उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button